बुबाको जीवन रक्षाका लागि छोरी मोनिकाको भावुक अपिल : ‘बाबालाई बचाइदिनुहोस्, तपाईंहरूको सानो सहयोग हाम्रो ठूलो आशा बन्न सक्छ’

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्पनजिक शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा भएको अटो र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका बेलडाँडी गाउँपालिका-१ सिद्धचोकका ललित सिंह ठकुराठीको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

गत कार्तिक २५ गते भाईटिका कै दिन दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा.००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक बालकसहित सात जना घाइते भएका थिए ।

दुर्घटनामा अटो चालक ४५ वर्षीय ललित सिंह ठकुराठी गम्भीर घाइते भएका थिए । प्रारम्भिक उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएका उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ वर्षीय बालक अर्थक खातीलाई समेत थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको थियो ।

यतिबेला ठकुराठीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं लैजानुपर्ने अवस्था आएको परिवारले जनाएको छ । तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन कठिनाइ भएपछि उनकी छोरी मोनिका ठकुराठीले सामाजिक सञ्जालमार्फत भावुक अपिल गरेकी छन् ।

आफ्नो जीवनभर परिवारको खुसीका लागि दुःख र संघर्ष गर्नुभएका बुबा आज जीवनकै कठिन परिस्थितिसँग जुधिरहेको देख्दा परिवार निकै पीडामा रहेको मोनिकाले उल्लेख गरेकी छन् ।

‘जुन बाबाले हामीलाई खुसी राख्न आफ्नो जीवनभर दुःख र संघर्ष गर्नुभयो, आज उहाँ नै जीवनको कठिन परिस्थितिसँग संघर्ष गरिरहनुभएको छ,’ उनले लेखेकी छन्, ‘आफ्नै बाबालाई पीडामा छटपटाइरहेको देख्दा पनि केही गर्न नसक्नु एउटा सन्तानका लागि कति पीडादायी हुन्छ, त्यो हामीले अहिले भोगिरहेका छौँ।’

बुबाको थप उपचारका लागि ठूलो आर्थिक रकम आवश्यक परेको तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन नसकेको भन्दै उनले देश तथा विदेशमा रहेका आफन्तजन, साथीभाइ, दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको हात बढाइदिन आग्रह गरेकी छन् ।

मोनिकाले सहयोगको रकम सानो वा ठूलोभन्दा पनि त्यसले बुबाको उपचारमा पुर्‍याउने योगदान महत्वपूर्ण हुने बताउँदै आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन सबैसँग अनुरोध गरेकी छन् । आर्थिक सहयोग गर्न नसक्नेहरूले समेत उनको अपिललाई बढीभन्दा बढी मानिससम्म पुर्‍याउन पोस्ट सेयर गरिदिन आग्रह गरेकी छन् ।

‘तपाईंहरूको सानो सहयोग पनि हाम्रो लागि ठूलो आशा बन्न सक्छ। तपाईंले दिनुभएको थोरै रकमले पनि मेरो बाबाको उपचारमा ठूलो योगदान पुग्न सक्छ,’ उनले अपिलमा लेखेकी छन् ।

परिवारका लागि अहिले सबैभन्दा ठूलो चाहना बुबाको स्वास्थ्यमा सुधार आउनु र उहाँ पुनः स्वस्थ भएर घरपरिवारको माझ फर्किनु रहेको मोनिकाको भनाइ छ ।

उनले सहयोगी मनहरूलाई एउटा परिवारको आशा बनेर साथ दिन आग्रह गर्दै बुबाको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिनसमेत अनुरोध गरेकी छन् ।

‘मानवता नै सबैभन्दा ठूलो धर्म हो। सहयोग गरौँ, एउटा जीवनमा आशा जगाऔँ,’ मोनिकाको भावुक अपिल छ ।

दुर्घटनामा घाइते भएका ठकुराठीको उपचारका लागि परिवारले सहयोगको अपेक्षा गरिरहँदा मानवीय संवेदना र सहयोगी हातहरूको साथले उपचारमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

सहयोगका लागि यो तलको मोनिका ठकुराठी कै esewa id मा QR गरिदिनु होला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित