कञ्चनपुरमा छाडाचौपायाको आतंक कायमै, मोटरसाइकलको ठक्करबाट गोरुको मृत्यु, चालक घाइते

कञ्चनपुर । कञ्चनपुरमा छाडाचौपायाको समस्या वर्षौंदेखि समाधान हुन नसक्दा सडक दुर्घटनादेखि किसानका बालीनाली नष्ट हुने क्रम रोकिएको छैन। पछिल्लो पटक कृष्णपुरमा छाडा गोरुको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा गोरुको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

गएराति करिब ११ बजेको समयमा कृष्णपुर नगरपालिका-२ स्थित बंक चोकमा सडकको बीचमा रहेको छाडा गोरुलाई सुदूरपश्चिम प्रदेश ०१-०१० प ३३६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोरुको मृत्यु भएको छ भने मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका-७ निवासी ३५ वर्षीय दीपकराज भट्ट घाइते भएका छन्। उनको वाणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

यो घटना केवल एउटा सडक दुर्घटनाको विषय मात्र होइन, कञ्चनपुरमा वर्षौंदेखि जरा गाडेर बसेको छाडाचौपाया व्यवस्थापनको असफलताको अर्को उदाहरण पनि हो।

छाडाचौपाया नियन्त्रण तथा व्यवस्थापनका नाममा जिल्लाका विभिन्न स्थानीय तहले वर्षौंदेखि लाखौँ रुपैयाँ बजेट खर्च गर्दै आएका छन्। तर, सडकमा छाडाचौपाया देखिने क्रम रोकिएको छैन। सडकमा चौपाया छाडा छोडिँदा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ भने किसानले वर्षभरि मेहनत गरेर लगाएको बालीनालीसमेत नष्ट हुँदै आएको छ।

विडम्बना त के छ भने, छाडाचौपायाले सडक नै कब्जा गरेर बस्दा पनि सोही सडक हुँदै आवतजावत गर्ने जनप्रतिनिधि र सम्बन्धित निकायका नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा पर्याप्त चासो दिएको देखिँदैन। निर्वाचनका बेला छाडाचौपाया नियन्त्रणलाई चुनावी प्रतिबद्धता र नारासमेत बनाउने जनप्रतिनिधिहरूको कार्यकालमा पनि समस्या जस्ताको तस्तै रहनु गम्भीर प्रश्नको विषय बनेको छ।

स्थानीयवासीले छाडाचौपाया व्यवस्थापनलाई सामान्य समस्या ठानेर बजेट खर्च गर्ने विषयमा मात्र सीमित नराखी दीर्घकालीन र प्रभावकारी योजना बनाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सडक दुर्घटनाबाट नागरिकको ज्यान जोखिममा पर्ने र किसानको खेतीपाती नष्ट हुने समस्या समाधान गर्न स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारले समेत गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ।

छाडाचौपाया नियन्त्रणका नाममा वर्षौंदेखि खर्च भएको लाखौँ बजेटको उपलब्धि कहाँ छ? सडकमा दुर्घटनाको जोखिम र खेतबारीमा किसानको क्षति कहिलेसम्म सहिरहने? जनप्रतिनिधिले चुनावका बेला गरेका प्रतिबद्धताको जवाफदेहिता कहिले देखाउने?

छाडाचौपाया व्यवस्थापनको नाममा बजेट खर्च गर्ने परम्पराभन्दा माथि उठेर नागरिकको ज्यान, किसानको पसिना र सार्वजनिक सडकको सुरक्षालाई प्राथमिकतामा राख्दै तीनै तहका सरकारले ठोस समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित