धनगढी – नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका बेला ७ वर्ष जेल परेका कञ्चनपुरको पुनर्वासका वीरबहादुर थापा ‘पातल’ नेकपा एमालेबाट सांसद हुँदै मन्त्री बनेका छन् । तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला उनी कञ्चनपुर जिल्ला कमिटी संयोजक हुँदै नेकपा एमालेमै रहेका थिए । नेकपाको निरन्तरता हुँदै एमालेमा रहेका पातल सोमबार सुदूरपश्चिम प्रदेश सरकारका विना विभागिय मन्त्री बनेका छन् ।
माओवादीमा हुँदा उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई उम्मेदवार बनाइएको थियो । माओवादीमा लामो योगदान रहेका उनी पछि प्रचण्डकी बुहारी मगरको छायाँमा पर्दै गएका थिए । माओवादीमै हुँदा उनी पुनर्वास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा चुनाव लड्दा नेकपा एमालेसँग पराजित भएका थिए ।
एमालेमा लागेपछि उनी कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एमालेले उनलाई सार्वजनिक लेखा समितिको सभापति समेत बनाएको थियो । सोमबार भएको मन्त्रिपरिषद् विस्तारमा कञ्चनपुर जिल्लाबाट ४ मन्त्री नियुक्त भएका छन् । थापासहित एमालेका हिरा सार्की, माओवादीका ओमविक्रम भाट ‘सरल’ र एकीकृत समाजवादीका माया पन्त मन्त्री बनेका छन् । सोडारीले एमालेका सुरेन्द्रबहादुर पाल, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी विकलाई समेत मन्त्री बनाएका छन् ।
यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
Discussion about this post