बेलडाँडीका किसानको सुविधाका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना हुने भएको छ । बेलडाँडी गाउँपालिका वडा नं २ को गौडीमा चिस्यान केन्द्र स्थापना गरिन लागेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।
स्थानीयस्तरमा कृषि उत्पादनमा बढावा दिन र फलफुल तथा तरकारी भण्डारणका लागि पालिकामा चिस्यान केन्द्र स्थापना गर्न लागिएको बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार आज आइतवार औपचारिक कार्यक्रमका बिच संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिह बिष्टले चिस्यान केन्द्रको उदघाटन गरेको जनाए । पालिका स्तर राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी, स्थानीयबासी, निर्माण व्यवसायी संचारकर्मी लगायतको उपस्थितिमा चिस्यान केन्द्रको शिलन्यास गरिएको हो ।
बेलडाँडी क्षेत्रमा हुने उत्पादित वस्तु बिक्री वितरण तथा भण्डारणका लागि कोल्डस्टोर निर्माण गर्ने निर्णय बेलडाँडी गाउँपालिको १३औं गाउँसभाले पास गरे अनुरुप पालिकाले ६९ लाख, ६१ हजार छ रुपैयाँ बीस पैसामा निर्माण कार्य सक्ने गरी गणेश निर्माण सेवा बेलौरीसंग सम्झौता गरेको अध्यक्ष रानाले जनाए । चिस्यान केन्द्र संचालनमा आएपछि किषानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल नष्ट नहुने बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले कोल्डस्टोर निर्माण भएर सञ्चालनमा आएपछि कृषकको उत्पादन खेर नजाने र कृषकले उत्पादन भण्डारणको उचित व्यवस्थापन हुने बताउदै किसानका केहि समस्या टरेर जाने विश्वास व्यक्त गर्नु भयो ।
आगामी मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरि कार्य अघि बढाएको निर्माण सेवाका प्रतिनिधी दिलिप चन्दले बताउनु भयो । निर्माण कार्य समयमै सक्ने गरी हामीले कार्य अघि बढाएका छौं तोकेको नियममा रहि समयमै निर्माण कार्य सक्ने जनाउनु भयो । बेलडाँडीमा चिस्यान केन्द्र बन्ने भएपछि स्थानीय कृषक हर्षित भएका छन् ।
Discussion about this post