बेलडाँडी, १ साउन । बेलडाँडी गाउँपालिकाका बाढीपिडितलाई खाद्यान्न सहयोग गरिएको छ । बेलडाँडी गाउँपालिका वडा नं.५ इमलीयामा चौधर नदीको तटवन्ध फुटालेर बस्ती पसेको बाढीका कारण विस्थापित बनेको घरपरिवारलाई बेलडाँडी गाउँपालिकासँगको समन्वयमा निड्स नेपाल र अक्सफामको साझेदारीमा खाद्यान्न सहयोग गरिएको हो ।
निड्स नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित विपद् पूर्वतयारी द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण (स्कोप आर थ्री) परियोजनाले हिजो असार ३१ गते बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का बाढीका कारण विस्थापित २३ घरपरिवारलाई राहत सामग्री सहयोग गरेको परियोजनाका सामाजिक परिचालक जानकी शाहीले जानकारी दिनुभयो ।
बाढीका कारण भण्डारण गरेर राखेको अन्न बाढीले बगाइदिएपछि दैनिकी छाकटार्न मुस्किल भएका बेला परियोजनाले शुरुवाती समय देखिनै सहयोग गर्दै आएको छ । परियोजनाले बाढी आएका बेला खाना खुवाउने कार्यक्रम संचालन गरेको थियो । त्यसपछि राहतका कार्यक्रम ल्याएको शाहीले बताउनु भयो ।
विपदको यस घडीमा सहयोग गर्नेहरुलाई बाढी पिडितहरुले धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् । राहत वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष ईन्द्र बहादुर खड्काले स्थानीय तहसँग समन्वय गर्दै अतिविपन्न विस्थापित घरपरिवारलाई अहिले राहत सामग्री वितरण गरिएको र छुटेका घरपरिवार सहितका लागि अब आउने थप राहतबाट सहयोग गरिने बताउनु भयो । कार्यक्रमको सहजीकरण निड्स नेपालका लोकेन्द्र जोशीले गर्नुभएको थियो ।
Discussion about this post