बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको लिटिल ग्रिनपार्कमा आउदो मंगलवार २५ गते प्रथम ग्रिन पार्क महोत्सव लाग्ने भएको छ । बेलडाँडी गाउँपालिका २ हुलाकी सडक छेउमा रहेको पार्कले पर्यटन प्रवर्द्धनका साथै ग्राहकहरुको मागलाई मध्यनजर राख्दै एकदिवसीय महोत्सव लगाउने तयारी थालेको छ ।
गाउँको पर्यटन, प्रवर्द्धनदेखि स्थानीयलाई विभिन्न मनोरञ्जनसहित सामाजिक सेवा दिने उद्देश्यले पार्क निर्माण गरेका संचालक ललित गिरीले प्रथम ग्रिनपार्क महोत्सव लगाउने जनाएका छन् । महोत्सवको आक्रर्षणमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रमको मुख्य आक्रर्षणमा लाल बहादुर धामी (अछामी बड्डो),मोडेल अनु मगर, बेलडाँडी सुपर डान्स चेम्पियन विपना कुवर, लाइभ देउडा कलाकार चेत बहादुर शाह, लाइभ देउडा तथा दोहोरी गायिका सम्झना साही लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । कार्यक्रम दिउसो ४ बजेदेखि ११ बजे सम्म चल्ने छ र अवलोकन गर्नेहरुका लागि १ सय टिकेट तोकेको छ ।
असोज घटस्थापना देखि संचालनमा आएको ग्रिनपार्कले यस क्षेत्रका आन्तिरिक पर्यटन तथा ग्राहकको मन जित्दै आएको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकलक्षित गरेर पार्क निर्माण गरेका युवा व्यवसायी ललित गिरीले गाउँघरमै उद्यम गर्न सकिने प्रणका साथ झन्डै एक करोड लगानीमा पार्क निर्माण गरेका थिए ।
Discussion about this post