बेलौरी, ६ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाबाट संचालित कंचन आवाज डटकमद्धारा नव निर्वाचित पत्रकारहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ शाखाका नव निर्वाचित पदाधिकारी, सदस्यहरू र प्रदेश परिषद सदस्यहरूलाई कंचन आवाज डटकमले बधाई तथा शुभकामना प्रदान गरेको हो ।
शनिबार, बेलौरी–४ शान्तिपुरस्थित पोखरी कटेजमा कंचन आवाज डटकमले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा जिल्लाको दक्षिणी भुगोलमै बसेर नेपाल पत्रकार महासंघको नव निर्वाचित जिल्ला पदाधिकारी, सदस्यहरू र प्रदेश परिषद सदस्यहरूलाइ सम्मान गरिएको डटकमले जनाएको छ । प्रदेश परिषद सदस्य विमल धामी, नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका सह–सचिव किशोर तमाङ, जिल्ला सदस्य द्वय धन बहादुर बिक र हरिलाल जोशीलाई बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा कंचन आवाज डटकमका संरक्षक सुरज श्रेष्ठले नव निर्वाचित पत्रकारहरूलाई टीका, खादाले स्वागत गर्दै, यस क्षेत्रको पत्रकारितालाई अझै विश्वसनीय बनाउने विश्वास व्यक्त गरे। उनले स्थानिय समस्या उजागर गर्दै पत्रकारिता क्षेत्रबाट अपेक्षा गरिएका विषयमा निर्भीक कलम चल्ने आवश्यकता औंल्याउदै भने पत्रकारिता जति मर्यादित मानिन्छ, त्यति नै आफैमा चुनौतीपूर्ण पेशा पनि हो । हाम्रो पद, पेशा र भूमिकासंगै जिम्मेवारी र कर्तव्य पनि संगै जोडिएका हुन्छन् । अग्रपंक्तिमा खटिएर सूचना र चेतनाको पैरवी गर्ने पत्रकार स्वभाविक रुपमा पनि अझै बढी जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
समाज रुपान्तरणका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहने भन्दै क्षेत्रको विकास र समृद्धिका लागि सबै मिलेर कलम चलाउन आग्रह गरे । ‘समाज रुपान्तरण गर्दै विकास र समृद्धिको मार्गमा डोर्याउने दायित्व पत्रकारको पनि हो’ श्रेष्ठले भने ‘समाज विकास र समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने कुरामा जोडदिनु भयो ।’ ‘सरकारले गरेका नराम्रा कामहरुको खवरदारीका साथै राम्रा कामहरु आम जनतासम्म पुर्याउने दायित्व समेत तपाईहाम्रै काधम रहेको औंल्याउनु भयो ।’
त्यस्तै नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका नव निर्वाचित सह–सचिव किशोर तमाङले पत्रकारितामा देखा परेका विकृति तथा समस्याको पहिचान गरी समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा सामाजिक अभियान्ता धर्मेन्द्र गिरीले भने जनप्रतिनिधि र स्थानीय तहका केही व्यक्तिसंग मिलेमतो गरेर हात चाट्ने, आर्थिक फाइदा लिने, उनीहरुको बदमासी र कर्तुत विरुद्ध कहिल्यै कलम नचलाउने, आफ्नो राजनीतिक आस्थाका मान्छेहरुको भजन गाउने र उनकै अघिपछि लुटुपुटु गरेर पत्रकारिताको साख जोगाउने पत्रकारहरुले पनि सोच्ने समय आएको बताए ।, उहाँले भने अब आम संचारकर्मी र सबै पत्रकारहरुले मर्यादित पत्रकारिता र आफ्नो उत्तरदायित्वलाई सम्झनै पर्ने बेला आएको जनाए ।
पत्रकारिता नजरले समस्या मात्र देख्ने पनि होइन, प्रशस्त सम्भावनाहरुको पनि खोजी गर्ने हो । जसको लागि पत्रकारिता पेशामा इमान र विश्वास, कार्यशैलीमा कुशलता, नेतृत्वमा सहकार्यता, जिम्मेवारीमा उत्तरदायी र व्यवहारमा स्पष्टता प्रदर्शन गर्दै पेशागत मर्यादा र सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताको विकासलाई जोड दिन जरुरी रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कंचन आवाज डटकमकी सम्पादक मीरा श्रेष्ठले पत्रकारिताको भूमिकालाई जिम्मेवार र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले स्थानीय स्तरमा पत्रकारिताको महत्व र यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य हुनुपर्ने धारणा राखिन् ।
कार्यक्रमको सहजिकरण कंचन आवाज डटकमका समाचार संयोजक केशव भट्टले गरेका थिए । कार्यक्रममा स्थानिय पत्रकारहरू, समाजसेवी, तथा विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post