बेलडाँडी । ट्राफिक प्रहरी बेलडाँडीले बेलडाँडी गाउँपालिकामा यातायात नियमको पालना सुनिश्चित गर्नको लागि सचेतनामुलक कार्य र चेकजाँच अभियानलाई निरन्तरता दिएको छ ।
बेलडाँडी प्रवेशको मुख्यद्धारा क्याम्पमा दिनभर र अन्य ठाउँमा घुम्ती तरिकाले रातीको समयमा समेत चेकजाँच कार्यलाई अघि बढाएको छ । यस अवसरमा, ट्राफिक प्रहरीले चालकहरूलाई यातायात नियम पालन गर्न र सडक सुरक्षा सुनिश्चित गर्न सन्देश पनि दिइरहेका छन् ।
बेलडाँडी ट्राफिक ईन्चार्ज, सम्भु भट्टका अनुसार, “सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यातायात नियमको पालना अत्यन्त आवश्यक छ । हाम्रो प्रयास भनेको चालक र यात्रीलाई सुरक्षित यात्रा गर्ने प्रोत्साहन दिनु हो ।“
चेकजाँचका दौरान ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन गरेर सवारी चलाउन, तेज गति सहित सवारी चलाउन र सवारी साधनको आवश्यक कागजातको बारेमा सचेत गराएका थिए । साथै, रातको समयमा पनि चेकजाँच कडा पार्दै, यातायातका नियमहरूको पालना नगर्ने चालकलाई कारवाही गरिएको छ ।
भट्टले थपे, “हामीले यातायात नियम पालन नगर्ने चालकलाई कारवाही गर्दा पनि, हाम्रो मुख्य उद्देश्य उनीहरूलाई सचेत बनाउन र सुरक्षित सडक वातावरणको सिर्जना गर्नु हो । यसका लागि समुदायको सक्रिय सहकार्य आवश्यक छ ।“
यस अभियानले बेलडाँडी क्षेत्रका स्थानीय जनतालाई ट्राफिक नियम र सडक सुरक्षा बारेमा थप जानकारी र चेतना प्रदान गर्ने उद्देश्य राखेको छ । ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिने र स्थानीय बासिन्दाहरूसँग मिलेर अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।
बेलडाँडीको यस ट्राफिक चेकजाँच अभियानले सडक सुरक्षा र सुरक्षित यात्रा सुनिश्चित गर्ने दिशा तय गर्दै, अन्य गाउँपालिकाहरूका लागि एक आदर्श पहलको रूपमा प्रस्तुत भएको छ ।
Discussion about this post