बेदकोट – कञ्चनपुरको बेदकोट नगरपालिका–७, सुडा मा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
झलारीबाट महेन्द्रनगर जाँदै गरेको म ३ प १४७१ नम्बरको मोटरसाइकल निर्माणाधीन कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका–१२ का ३२ वर्षीय हरिस खुना को उपचारका क्रममा ज्यान गएको हो ।
बेलौरी नगरपालिका भकुण्डाका २१ वर्षीय अमृत चौधरीको नियन्त्रणमा रहेको मोटरसाइकल अचानक सुडास्थित अधुरो कल्भर्टमा ठोक्किएको थियो। ठक्कर यति तीव्र थियो कि पछाडि सवार हरिस खुना गम्भीर घाइते भए । उनलाई तत्काल धनगढीस्थित नवजीवन अस्पताल पुर्याइयो तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
दुर्घटनापछि मोटरसाइकल चालक अमृत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सडकमा निर्माणाधीन संरचनाले दिनप्रतिदिन दुर्घटना बढाइरहेका छन् । सडक छेउमा संकेत बोर्ड वा राति झलमल हुने संकेतहरू नराख्दा यस्ता दुःखद घटना दोहोरिन सक्छन् । स्थानीयले सडक सुरक्षामा ध्यान दिन माग गर्दै प्रशासनलाई चाँडै उचित कदम चाल्न आग्रह गरेका छन् ।
Discussion about this post