धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १लाख ९० हजार रुपैयाँ जरिवाना तिरेको छ । धनगढी उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका–९ सेहरीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला परेपछि जरिवाना तिराइएको हो ।
माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो । सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटका अनुसार अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशनअनुसार जरिवाना गराइएको हो । उनका अनुसार ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना तिराइएको छ ।
यो घटनाले सरकारी निकाय स्वयंले समेत अवैध उत्खनन गर्ने प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ । यस सम्बन्धमा आगामी दिनमा थप निगरानी र कडाइ अपनाइनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।
Discussion about this post