धनगढी – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आगामी निर्वाचनसम्म आफ्नो पार्टी प्रमुख प्रतिपक्षमै रहने बताएका छन् । प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले २०८४ को निर्वाचनसम्म माओवादी केन्द्र प्रतिपक्षी भूमिकामै रहने स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकाले आफ्नो पार्टी विपक्षमा रहने बताए । साथै, अब एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि उनले जनाए । उनले भने, ‘हामीले वामपन्थी एकता र गठबन्धनका लागि प्रयास गरेका थियौं, तर त्यो असफल भयो ।
कोर्स करेक्सन गर्न खोज्दा पनि एमालेसँग सहकार्य सम्भव भएन । अब २०८४ को निर्वाचनमा हामी एक्लै प्रतिस्पर्धा गर्नेछौं । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुई पटक धोका दिइसक्नुभएको छ, तेस्रो पटक धोका खान चाहँदैनौं ।’
उनले माओवादी केन्द्र अब आफ्नै बलबुतामा चुनाव लड्ने र कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने घोषणा गरे ।
Discussion about this post