भोलीदेखि सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरू हुँदै

ईन्सु नेगी/कञ्चनपुर, माघ २४ । सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ। सभ्यता, नवीनतम विकास, र स्थानान्तरण विषयमा केन्द्रित यो सम्मेलन भोली (माघ २५) देखि विश्वविद्यालयको केन्द्रीय कार्यालय, महेन्द्रनगरमा सुरू हुने भएको हो। विश्वविद्यालयका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

यसअघि सन् २०२२ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको विश्वविद्यालयले करिब तीन वर्षपछि दोस्रो सम्मेलन आयोजना गर्न लागेको हो। शिक्षा, सभ्यता, कला, संस्कृति लगायत समसामयिक विषयमा विश्वव्यापी रूपमा भइरहेका छलफल, अनुसन्धान र नवीनतम विकासबारे एकअर्कासँग सिक्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो।

१४ देशका विज्ञ सहभागी हुने

सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.डा. किसनदत्त भट्टका अनुसार सम्मेलनमा १४ देशका प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञहरू सहभागी हुनेछन्। ‘विश्वव्यापी रूपमा नेटवर्क विस्तार गर्दै ज्ञान आदानप्रदान गर्ने अवसरका रूपमा सम्मेलनलाई हेरिएको छ,’ उनले भने, ‘यसले नयाँ सिकाइको अवसर दिलाउनेछ।’

कार्यक्रम संयोजक समेत रहेका भट्टका अनुसार १४ देशका विज्ञहरूले आठवटा फरक विषयमा अनुसन्धानपत्र प्रस्तुत गर्नेछन्। समाज, विज्ञान प्रविधि, कृषि, स्वास्थ्य, नीति योजना, शिक्षा, वातावरण व्यवस्थापन तथा सीप विकास जस्ता विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

तीन हलमा कार्यपत्र प्रस्तुति

कार्यक्रमका सह–संयोजक तथा शिक्षा संकायका उपप्राध्यापक डा. यज्ञराज पाण्डेका अनुसार कार्यपत्र प्रस्तुति तीन फरक हलमा समूह विभाजन गरेर गरिनेछ। ‘विश्वभरका विज्ञहरूबाट हुने प्रस्तुति सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूका लागि पनि ज्ञान र अनुसन्धानको नयाँ दिशातर्फ अघि बढ्ने अवसर हुनेछ,’ उनले भने।

पहिलो सम्मेलनबाट प्राप्त ज्ञान व्यवहारिक कार्यान्वयनमा

शिक्षा संकायका डीन प्रा.डा. भवानी चलाउनेले पहिलो अन्तर्राष्ट्रिय सम्मेलनबाट प्राप्त ज्ञान केही हदसम्म व्यवहारिक रूपमा कार्यान्वयन गरिएको बताए। ‘हामीले अघिल्लो सम्मेलनबाट सिकेका विषयहरूको अभ्यास गरिरहेका छौं। सुदूरपश्चिम प्रदेश सरकारले पनि हाम्रा योजनाहरू लागू गर्दै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ,’ उनले भने।

भारतीय संस्थाबाट सहयोग

व्यवस्थापन संकायका डीन डा. पदमराज जोशीका अनुसार भारतको प्रतिष्ठित ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुडकी (IIT Roorkee)’ ले सम्मेलनको आयोजना गर्न सहयोग गरेको छ। ‘आईआईटीआरको सहभागिता सुखद पक्ष हो। यसबाट विश्वविद्यालयले थप ज्ञान आर्जन गर्ने अवसर पाउनेछ,’ उनले बताए।

सम्मेलन उद्घाटन प्रदेश प्रमुखबाट

सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम रहेको छ। विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, तथा सरोकारवालाहरूको उपस्थितिमा हुने सम्मेलन तीन दिनसम्म (माघ २७ गतेसम्म) सञ्चालन हुनेछ। विश्वविद्यालय प्रशासनले यो सम्मेलन उपलब्धिमूलक हुने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित