सन्जु महर/कञ्चनपुर, माघ २५ । सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा शुक्रबार युवा गायक तथा मोडल दुर्गेश थापाले शानदार प्रस्तुति दिँदै दर्शकलाई नचाएका छन्।
महेन्द्रनगर खुला मञ्चमा जारी महोत्सवको अन्तिम दोस्रो दिन थापाले ‘दुश्मन हेरेको हे¥यै’ लगायत आधा दर्जन चर्चित गीत प्रस्तुत गरेका थिए।
उनको प्रस्तुति हेर्न हजारौँ दर्शक उपस्थित भएका थिए। स्टेज मात्र नभई मैदानसम्मै बालबालिका, किशोर–किशोरी, युवा तथा युवतीहरु नाचिरहेका थिए।
दर्शकको उर्लदो भीडलाई सम्हाल्न प्रहरी र आयोजकलाई हम्मेहम्मे परेको थियो। झण्डै ४० मिनेट स्टेजमा धमाका मच्चाएका थापासँग स्टेजमा चढेर नाच्न कैयौँ फ्यानले प्रयास गरे, जसका कारण सुरक्षा व्यवस्था थप कडा बनाउनुपरेको थियो।
दुर्गेश थापालाई धनगढी एयरपोर्टबाट सीधा स्टेजसम्म युवा उद्यमी नरेन्द्र शाहले ल्याएका थिए। स्टेज चढे लगत्तै थापाले एकपछि अर्को हिट गीत गाएर दर्शकलाई झुमाए। हालै अभिनेत्री प्रियंका कार्कीसँग अभिनय गरेको ‘दुश्मन हेरेको हे¥यै’ गीतले थप चर्चा कमाइरहेका थापाका पछिल्ला स्टेज शोहरूमा यो गीत अत्यधिक रुचाइँदै आएको छ।
उनको आगमन थाहा पाएपछि हजारौँ दर्शक स्टेज अगाडि कुरेर बसेका थिए। स्टेजमा चढेदेखि ओर्लिएसम्म थापालाई हेर्ने दर्शकको घुइँचो लागेको थियो। कार्यक्रम सकिएपछि आयोजकले मायाको चिनो प्रदान गर्दै उनलाई विदाई गरे।
थापा बाहिरिँदा समेत सुरक्षाकर्मीलाई फ्यानहरूको भिड नियन्त्रण गर्न कठिनाइ भएको थियो। गाडी घेर्ने फ्यानहरूको भीडले उनको लोकप्रियता झल्काएको थियो।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर तथा मेला मूल आयोजक समितिका संयोजक लाल परियारका अनुसार शुक्रबार मात्रै हजारौँ दर्शकले महोत्सवको अवलोकन गरेका थिए।
महासंघका सुदूरपश्चिम प्रदेश महासचिव शिवराज पनेरुले सिथिल बनेको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए।
शनिबार महोत्सवको समापनका दिन चर्चित गायिका तथा मोडल ज्योती मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ। खुला मञ्च खचाखच भरिएको देख्दा स्थानीय व्यापारीसमेत उत्साहित बनेका छन्।
Discussion about this post