सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन हुँदै, ज्योती मगरको प्रस्तुति मुख्य आकर्षण

केशव थापा, माघ २६ । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा गत माघ १५ गतेदेखि सञ्चालन भइरहेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज शनिबार समापन हुँदैछ।

‘साँस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाको पहिचान, समृद्ध एवं सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित महोत्सवमा हजारौँ दर्शकको उपस्थिति रहेको छ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा सम्पन्न महोत्सवमा कृषि, पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा, ऊर्जा, गार्मेन्ट, लघु उद्यमलगायतका विभिन्न क्षेत्रका स्टलहरू प्रदर्शनीमा राखिएका थिए। मेलामा बाल उद्यान, अटो प्रदर्शनी तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू समेत समावेश गरिएका थिए।

महोत्सव संयोजक ललित परियारका अनुसार आजको समापन समारोहमा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल घिमिरे प्रमुख अतिथि रहनेछन्। समापन अवसरमा चर्चित गायिका ज्योती मगर, गायक जीवन परियार, महेन्द्र विक लगायतका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

साँस्कृतिक संयोजक करन पालले महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए। सुदूरपश्चिमका ओझेलमा परेका लोककलादेखि चर्चित कलाकारसम्मका कार्यक्रम प्रस्तुत गरिएका छन्।

परियारका अनुसार कोरोना महामारीपछि प्रभावित स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव महत्वपूर्ण रह्यो। महोत्सवकै आम्दानीबाट नेपाल आमाको मूर्ति निर्माण, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको अक्षयकोष स्थापनार्थ तथा समाजकल्याण बाल अनाथालयलाई सहयोगस्वरूप टिकटबाट संकलित रकममध्ये निश्चित अंश छुट्याइएको छ।

नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक, उद्यमी, व्यवसायीलाई प्रोत्साहन तथा पर्यटन प्रवर्द्धन महोत्सवका मुख्य उद्देश्य थिए।

शुक्रबार चर्चित गायक दुर्गेश थापाको प्रस्तुति हेर्न पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धनगढी एयरपोर्टदेखि महोत्सव स्थलसम्म कलाकार ल्याउने व्यवस्थापनमा संलग्न युवा उद्यमी नरेन्द्र शाहका अनुसार महोत्सवले सुदूरपश्चिमको मौलिक संस्कृति प्रवर्द्धनमा टेवा पु¥याएको छ।

विद्यार्थीका लागि टिकट शुल्क रु. ४० तथा साधारण दर्शकका लागि रु. ८० निर्धारण गरिएको थियो। अति अशक्त, जेष्ठ नागरिकहरूलाई विशेष छुट प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

व्यवसायीहरूका अनुसार महोत्सवका कारण महेन्द्रनगर बजारमा चलहपहल बढेको छ। करोडौँ रुपैयाँको आर्थिक कारोबार भइसकेको अनुमान गरिएको छ, जसले स्थानीय व्यवसायीलाई समेत उत्साहित बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित