आज सनिवार विश्वभर १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । आजको दिन महिलाका हक, अधिकार, सामाजिक न्याय, र लैंगिक समानताको विषयमा चर्को आवाज उठाइए पनि चुलोचौंकोमा सीमित महिलाहरूका लागि यो आवाज अझै टाढाको कुरा बनेको छ ।
नेपालमा हरेक वर्ष अगुवा महिला र केही सीमित व्यक्तिहरूले मात्र महिला दिवस मनाउने परम्परा बसिसकेको देखिन्छ । महिला अधिकार पुरुषसरह बराबरीको हुनुपर्ने भनिए पनि व्यवहारमा असमानता कायमै छ । यही असमानताको विरोधमा हरेक वर्ष मार्च ८ तारिखका दिन नारी दिवस मनाइन्छ ।
तर, वास्तविकतामा महिलाको पीडा अझै उस्तै छ । अधिकांश महिला आफ्नो घरपरिवारबाटै मानसिक तथा शारीरिक रूपमा पीडित छन् । ३६४ दिन उनीहरूको आवाज सुन्ने कोही हुँदैन, मात्र एक दिन औपचारिक रूपमा महिला सशक्तिकरणका कुरा गरिन्छ । बेलडाँडी क्षेत्रमा मात्र होइन, नेपालभर नै महिलाहरू घरेलु हिंसा, शोषण, र विभेदको शिकार भइरहेका छन् ।
२१ औँ शताब्दीमा आइपुग्दा पनि महिला र पुरुषबीचको सामाजिक हैसियतमा स्पष्ट अन्तर देखिन्छ । अगुवा महिलाहरूले समेटेको दायरा सीमित छ । कतिपय अवस्थामा त महिलाहरू स्वयं पुरुषहरूमार्फत दवाबमा राखिएको देखिन्छ ।
‘सबै महिला तथा बालबालिकाका लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष पनि नारी दिवस मनाइयो। तर, एक शताब्दीदेखि मनाउँदै आएको यो दिवसले सार्थक परिवर्तन ल्याउन नसकेको यथार्थ छ।
संयुक्त राष्ट्र संघले सन् १९०९ देखि नारी सशक्तिकरणको अभियान थालनी गरे पनि नेपालमा भने सन् १९५९ (वि.सं. २०१६) देखि मात्र यो दिवस नियमित रूपमा मनाउन थालिएको थियो। महिलालाई मतदान अधिकार २००७ सालमै प्राप्त भए पनि व्यावहारिक रूपमा उनीहरूको प्रतिनिधित्व अझै न्यून छ।
महिला दिवस मनाउने परम्परासँगै विभिन्न क्षेत्रमा महिला सहभागिता बढेको छ । तर, सशक्तिकरण भने सीमित क्षेत्रमै देखिएको छ । श्रमिक महिला, चुलोचौकोमा सीमित महिलाहरूलाई यस दिवसको अर्थबारे जानकारी नै छैन । स्थानीय तहमा नारी दिवस मनाउन बजेट छुट्याइए पनि त्यो बजेट सीमित व्यक्तिहरूले मात्र उपभोग गरेको पाइएको छ ।
बेलडाँडी–४ की गोमती धामी भन्छिन्, “हामीलाई नारी दिवस के हो भन्ने थाहा छैन । यहाँ सिमित जान्ने सुन्नेले मात्र दिवस मनाएको पाइन्छ । समाजका अगुवा महिलाहरूले नै हामीलाई जानकारी गराउने गरेका छैनन् ।”
त्यस्तै, गोमतीकी बुहारी कमला धामीले भनिन्, “म बेचुलर सकेकी छु, तर यहाँ जसको हालीमुहाली छ, तिनले मात्र कार्यक्रम गर्छन् । अन्य महिलालाई जानकारीसमेत दिइँदैन । सरकारी रकम समेत सीमित व्यक्तिले मात्र उपयोग गर्छन् । यस्तो महिला दिवसले के सार्थकता पाउला?”
विज्ञहरू भन्छन्, महिला दिवसका कार्यक्रमलाई कर्मचारी, जनप्रतिनिधि, अगुवा महिला सीमित राख्ने परिपाटी अन्त्य गर्नुपर्छ । घरेलु हिंसाबाट प्रताडित, मजदुरी गर्ने, घरायसी काममा सीमित महिलाहरूलाई सचेत पार्ने कार्यक्रम आवश्यक छ । स्थानीय जनप्रतिनिधिले उनीहरूका लागि प्रभावकारी नीति ल्याउनुपर्ने आजको आवश्यकता हो ।
महिला दिवसको सार्थकता तब मात्र हुनेछ जब यसले वास्तविक पीडित महिलाको आवाज बुलन्द गर्नेछ । जबसम्म चुलोचौकोका महिलाहरूलाई समेट्ने गरी दिवस मनाइँदैन, तबसम्म यो औपचारिकता मात्र बन्नेछ ।






















Discussion about this post