बेलडाँडीको ४१ करोड ६९ लाख ७९ हजारको बजेट पारित, आगामी वर्षदेखि पालिकाबाटै नापी-मालपोत सेवा प्रदान गरिने

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्ष हरिशचन्द्र रानाले बजेट तथा आगामी वर्षका प्राथमिकताबारे जानकारी गराउँदै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताउनुभयो।

गाउँसभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथद्वारा बजेट प्रस्तुत गरिएको भए पनि बजेट वाचन वडा नं. ५ का अध्यक्षले गर्नुभएको थियो।

सभामा आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका कार्यक्रम तथा योजनाको समीक्षा गर्दै विषयगत समितिका संयोजकहरूले आ-आफ्नो क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

गाउँसभा अध्यक्ष रानाले आगामी आर्थिक वर्षदेखि बेलडाँडी गाउँपालिकाबाटै नापी तथा मालपोत सम्बन्धी सेवा प्रवाह गर्ने तयारी गरिएको जानकारी दिनुभयो। यसबाट स्थानीय नागरिकलाई सेवा लिनका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने र समय तथा खर्च दुवै बचत हुने विश्वास व्यक्त गर्नुभयो।

प्रस्तुत बजेटअनुसार आर्थिक विकास क्षेत्रका लागि ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ। रोजगार सेवा केन्द्रमार्फत सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्न १० लाख रुपैयाँ छुट्याइएको छ भने कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

महिला उद्यमशीलता विकास, सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। पशु स्वास्थ्य सेवा, औषधि वितरण, महामारी नियन्त्रण, निःशुल्क खोप तथा कृत्रिम गर्भाधान कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

सामाजिक विकास क्षेत्रतर्फ ३ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह, औषधि व्यवस्थापन तथा उपचार सेवाका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक गाउँपालिकाले थप १ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ। शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा शैक्षिक विकासका कार्यक्रमका लागि पनि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार विकासतर्फ संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाको गौरवका आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माण तथा १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ। साथै खेलकुद क्षेत्रको विकासका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभा अध्यक्ष रानाले प्रस्तुत बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सहजता, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा दिगो पूर्वाधार विकासमार्फत समृद्ध बेलडाँडी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित