बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. १ को नवनिर्मित प्रशासकीय भवन आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले भवनको उद्घाटन गर्दै स्थानीय तहको संस्थागत सुदृढीकरण र प्रभावकारी सेवा प्रवाहमा यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उद्घाटन समारोहमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. १ का अध्यक्ष गजबहादुर बिष्टले गर्नुभएको थियो।
गत वर्ष कार्तिक महिनामा शिलान्यास गरिएको उक्त भवन निर्धारित समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो। वडावासीलाई सहज, सुलभ र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरिएको जनाइएको छ।
वडा अध्यक्ष बिष्टका अनुसार भवन निर्माणका लागि चौधरी बिल्डर्स, महेन्द्रनगरसँग २०८२ कार्तिक १६ गते सम्झौता गरिएको थियो। जेठ मसान्त २०८३ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न भएको हो। ९६ लाख ६० हजार ९ सय ४ रुपैयाँको लागत अनुमान रहेको भवन निर्माणको ठेक्का चौधरी बिल्डर्सले भ्याटसहित ६४ लाख ३१ हजार ९ सय २५ रुपैयाँमा प्राप्त गरेको थियो। २ हजार २ सय ३७ दशमलव ६३ वर्गफिट क्षेत्रफलमा एकतले भवन निर्माण गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिष्टले वडा कार्यालय विगत करिब नौ वर्षदेखि भाडाको भवनबाट सञ्चालन हुँदै आएको स्मरण गर्नुभयो। उहाँले अब आफ्नै भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
“विगतमा भाडाको घरबाट सेवा सञ्चालन गर्दा सेवाग्राही र कर्मचारी दुवैले विभिन्न समस्या झेल्नुपरेको थियो,” उहाँले भन्नुभयो, “अब आफ्नै प्रशासकीय भवनबाट वडावासीलाई थप व्यवस्थित, छिटो र प्रभावकारी सेवा दिन सकिनेछ।”
उहाँले गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले निर्वाचनअघि गरेका प्रतिबद्धताअनुसार वडाहरूमा आफ्नै प्रशासकीय भवन निर्माण गर्ने अभियान सफल हुँदै गएको समेत उल्लेख गर्नुभयो।
प्रमुख अतिथि दिवान सिंह बिष्टले बेलडाँडीको विकासमा आफू निरन्तर प्रतिबद्ध रहेको बताउँदै विगतदेखि नै यस क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले बेलडाँडीमा भएका विभिन्न विकास निर्माणका काममा आफ्नो योगदान रहेको दाबी गर्दै गाउँपालिका अध्यक्ष रानाको इमान्दार नेतृत्वका कारण पालिका विकासको दिशामा अघि बढिरहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले वडा नं. १ को आफ्नै भवन निर्माण हुनु गाउँपालिकाको संस्थागत सबलीकरणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले वडा नं. ३ बाहेक अन्य सबै वडामा आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह हुने अवस्था बनेको जानकारी दिनुभयो।
“वडा नं. ३ मा दलदले जमिनका कारण केही प्राविधिक समस्या उत्पन्न भएकाले भवन निर्माणमा ढिलाइ भएको हो,” अध्यक्ष रानाले भन्नुभयो, “तर त्यो समस्या समाधान गरेर छिट्टै त्यहाँ पनि स्थायी भवन निर्माण गरिनेछ। सबै वडामा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने हाम्रो लक्ष्य अब पूरा हुने चरणमा पुगेको छ।”
वडा सदस्य श्याम रावलले पनि वडाको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधिको टोली सक्रिय रूपमा लागिरहेको बताउनुभयो। आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले अझ छिटोछरितो र सहज सेवा पाउने उहाँको भनाइ थियो।
बेलडाँडी गाउँपालिकाले सबै वडामा आवश्यक भौतिक पूर्वाधार विस्तार गर्दै नागरिकमैत्री र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। वडा नं. १ को नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि स्थानीयवासीले आधुनिक र व्यवस्थित वातावरणमा सरकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उक्त समारोहमा पुर्व जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । कार्यंक्रमको संचालन वडा सचिव राज बहादुर शाहले गर्नु भएको थियो भने स्वागत मनतब्य वडा सदस्य गौरी देवी उपाध्यायले गर्नु भएको थियो ।





















Discussion about this post