बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ स्थित बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन समिति तथा लेखा समितिको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन समितिले आइतबार सूचना जारी गर्दै निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन अधिकृत हरिप्रसाद शर्माद्वारा जारी सूचनाअनुसार असार ७ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिएको छ। मतदाता नामावलीमा छुट भएका वा त्रुटि सच्याउनुपर्ने सदस्यहरूले असार ८, ९ र १० गते कार्यालय समयभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। अन्तिम मतदाता नामावली असार ११ गते प्रकाशन गरिने जनाइएको छ।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता असार १२ गते हुनेछ भने उम्मेदवारहरूको प्रारम्भिक नामावली असार १३ गते प्रकाशन गरिनेछ। दाबी–विरोध, छानबिन तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया असार १४ गते सम्पन्न गरी असार १५ गते अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
सहकारीको निर्वाचनका लागि असार १९ गते राति १२ बजेदेखि असार २० गते राति १२ बजेसम्म प्रचार-प्रसार निषेध गरिएको छ। मतदान भने असार २० गते बिहान ८ बजेदेखि सुरु हुने र अपराह्न ४ बजेसम्म मतदान केन्द्रको घेराभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्य पदका साथै लेखा समिति संयोजक र सदस्य पदका लागि मतदान हुने छ। उम्मेदवारहरूले मनोनयन दर्ताका क्रममा नेपाली नागरिकताको प्रतिलिपि, शेयर प्रमाणपत्र, बचत पासबुक तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, मतदानका दिन मतदाताले नेपाली नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्रको सक्कल प्रति साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि २ हजार ५ सय रुपैयाँ, उपाध्यक्ष र सचिव पदका लागि २/२ हजार रुपैयाँ, कोषाध्यक्षका लागि १ हजार ८ सय रुपैयाँ तथा सदस्य पदका लागि १ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क तोकिएको छ। लेखा समिति संयोजकका लागि २ हजार रुपैयाँ र सदस्यका लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उक्त सहकारीमा टोटल मतदाता तथा सेयर सदस्य १३ सय ८९ रहेका छन् ।
सहकारीले सम्पूर्ण शेयर सदस्यहरूलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
























Discussion about this post