कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका विदेशी नागरिकलाई २४ घण्टाभित्र हटाउन आदेश

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसिरहेका एक सयभन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र छाड्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले आदेश दिएका छन्।

भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका नागरिक रेन्बो फेमली ग्यादरिङ नामक समूहको रूपमा करिब एक हप्ता देखि सिमली जंगल क्षेत्रमा बस्दै आएका थिए। उनीहरूले कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको पाइएपछि स्थानीय प्रशासनले तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

स्थानीयवासीबाट उनीहरू अर्धनग्न हुने, आपसी अस्वभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्ला सुरक्षा निकायका प्रमुखहरूको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रजिअ हमालले विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यतर्फ लाग्न निर्देशन दिएका हुन्। साथै, निर्देशन अवज्ञा गरे कानुनी कारवाही हुने चेतावनी दिइएको छ।

नेचर लभरको दाबी, प्रशासनको कडा चेतावनी

अनुगमनका क्रममा विदेशी नागरिकहरूले आफूहरू प्रकृतिमा रमाउने (नेचर लभर) भएको दाबी गरे। उनीहरू विभिन्न देशमा पुगेर प्रकृतिसँग एकाकार हुने उद्देश्यले नेपाल आएको बताएका थिए। तर, कुनै आधिकारिक अनुमति नलिई वन क्षेत्रमा बसोबास गरेकाले स्थानीय प्रशासनले हटाउन निर्देशन दिएको हो। यद्यपि, उनीहरूले शान्ति सुरक्षामा असर पार्ने कुनै गतिविधि गरेको प्रमाण नपाइए पनि अनुमति बिना बस्न नपाउने प्रशासनले स्पष्ट पारेको छ।

पत्रकारमाथि हातपात, विरोध प्रदर्शन

विदेशी नागरिकको बसोबासबारे समाचार सम्प्रेषण गरेका सुखडका पत्रकार प्रकाश मिश्रमाथि हातपात भएको छ। घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सृजना होटलका सञ्चालक चेतबहादुर सिंह (४०) र अजुवा क्याफेका सञ्चालक डबलबहादुर शाह (४८) ले पत्रकार मिश्रलाई आक्रमण गरेका हुन्। मिश्रले विदेशी नागरिकको रहस्यमय गतिविधि र होटल व्यवसायी शाहको संलग्नताबारे समाचार लेखेका थिए।

पत्रकारमाथिको हातपातको घटनाको नेपाल पत्रकार महासंघको जिल्ला तथा प्रदेश समिति र विभिन्न संघ-संस्थाले निन्दा गरेका छन्। दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय सुखडले डबलबहादुर शाहलाई नियन्त्रणमा लिएको छ।

नगरपालिकाको स्वागत, प्रशासनको कारवाही

एकातर्फ प्रशासनले विदेशी नागरिकलाई हटाउने आदेश दिए पनि घोडाघोडी नगरपालिकाले संस्कृति आदानप्रदान भन्दै उनीहरूलाई स्वागत गरेको देखिएको छ। यसअघि पनि रेन्बो फेमली ग्यादरिङ नामकै समूह अछामको रामारोशन क्षेत्रमा प्रवेश गरेको थियो। स्थानीय प्रशासनले यसबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित