बैतडीमा कोल्ड स्टोर सञ्चालन नहुँदा किसान मर्कामा

बैतडी : बैतडीमा निर्माण गरिएको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–8 खोडपे बजारमा निर्माण सम्पन्न भएको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा नआउँदा स्थानीय कृषकहरू समस्यामा परेका हुन् ।

दुई वर्षअघि निर्माण सम्पन्न भएको १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन–8 का कृषक भरत चन्दले बताए । पाटन वडा नं ८, ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।

यहाँ उत्पादन भएका तरकारी उपजले बजार नपाएका बेला भण्डारण गरी राख्न कोल्ड स्टोर निर्माण गरिएको भए पनि सञ्चालनमा चासो नदेखाउँदा समस्या भएको उनले जानकारी दिए । हाल यहाँका किसान तरकारी तथा बीउ भण्डारणका लागि डडेल्धुरा जाने गरेका छन् ।’डडेल्धुरामा त्यहाँका किसानलाई प्राथमिकता दिइन्छ, उत्पादन कम भएका बेलामात्रै हामी आलुको बीउ भण्डारण गर्न पाउँछौँ’, चन्दले भने, ‘गत वर्ष भण्डारणमा समस्या भएको थियो ।’

घर नजिकै कोल्ड स्टोरका लागि भौतिक निर्माण गरिएको भए पनि सञ्चालनमा नआउँदा किसानहरूले तरकारी स्टोरका लागि डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको अर्का कृषक गगनसिंह विष्टले बताए ।

‘आलु, बन्दा, रायो लगायतका तरकारीका लागि पकेट क्षेत्र हो, दुई वर्षअघि नै यसकै लागि भनेर कोल्ड स्टोर निर्माण गरिएको थियो’, विष्टले भने, ‘तर सञ्चालनमा नआउँदा ठूलो समस्या भइरहेको छ ।’प्रदेश सरकार, कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासनलाई कोल्ड स्टोर सञ्चालनका लागि पटक–पटक माग गरिए पनि हालसम्म कुनै प्रगति नभएको पाटन–8 का वडाध्यक्ष हरिश विष्टले बताए । किसानलाई डडेल्धुरासम्म ढुवानी गर्दा बढी खर्च लाग्ने समस्या रहेको वडाध्यक्ष विष्टले बताए ।सोमबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापाले उक्त कोल्ड स्टोर निरीक्षण गरेका थिए ।

किसानहरूले मन्त्री थापासँग कोल्ड स्टोर तत्काल सञ्चालन गराउन पहल गरिदिन माग गरेका थिए । मन्त्री थापाले प्रदेशभरि नै कोल्ड स्टोर तथा तरकारी सङ्कलन केन्द्रका लागि थुप्रै संरचना निर्माण भए पनि ती प्रयोगमा आउन नसकेको बताए । ‘संरचना निर्माण गर्दा सम्भाव्यता तथा प्रभावकारिताको अध्ययन हुनु जरुरी छ’, उनले भने ।कोल्ड स्टोरका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र पर्ने गरेको उनले बताए । साथै, तरकारी सङ्कलन केन्द्र तथा कोल्ड स्टोर सञ्चालनका लागि स्पष्ट मोडालिटी नबन्दा समस्या भइरहेको मन्त्री थापाले उल्लेख गरे।

स्थानीय किसानहरूले कोल्ड स्टोर सञ्चालनसँगै तरकारी सङ्कलन केन्द्रको मागसमेत गरेका छन् ।कृषि ज्ञान केन्द्रको १५ लाख रुपैयाँ अनुदान तथा दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानी गरी करिब ४५ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण गरिएको थियो । तर, कोल्ड स्टोर सञ्चालक ललितमोहन भट्ट सम्पर्कविहीन भएपछि सञ्चालनमा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित