काठमाडौं :पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ। उनलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ।कारागार प्रशासक सुरेश भण्डारीका अनुसार ४ नम्बर ब्लकमा लामिछानेमात्रै छन्।
भण्डारीले बताएअनुसार, “उहाँको कुनै गुनासो वा माग हामीलाई आएको छैन। हामीले आफ्नै निर्णयअनुसार उहाँलाई एक्लै राखेका हौं।“भैरहवा कारागारमा हाल चारवटा ब्लक छन्। १ र २ नम्बर ब्लकमा पुरुष कैदी–थुनुवा छन् भने ३ नम्बर ब्लक महिलाहरूका लागि छुट्याइएको छ। लामिछानेलाई राखिएको ४ नम्बर ब्लकमा १० जनासम्म राख्न सकिने क्षमता भए पनि हालसम्म अन्य कैदी वा थुनुवा नरहेको कारागार स्रोतले जनाएको छ।
लामिछानेलाई चैत २१ गते शुक्रबार राति काठमाडौंको आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो। चैत २३ गते बिहान ९ः१२ बजे यति एयरलाइन्सको विमानमार्फत भैरहवास्थित गौतमबुद्ध विमानस्थल ल्याइ उनको जिम्मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई दिइएको थियो।
सरकारी बिदाका कारण दुई दिन प्रहरी हिरासतमा राखिएका लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएको हो।
सुप्रिम सहकारी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले गरेको आदेशमा जिल्ला अदालत रुपन्देहीको धरौटीमा रिहा गर्ने आदेशलाई बदर गरिएको छ।
उच्च अदालतले दिएको आदेशअनुसार, मुद्दाको प्रकृति, घटनाको अवस्था, पीडितको अवस्था लगायतका सन्दर्भमा धरौटीभन्दा थुनामै राख्नु उचित ठहर गर्दै लामिछानेलाई थुनामा पठाउने निर्णय गरेको हो।
Discussion about this post