अत्तरिया, कैलाली — कैलालीको अत्तरियामा रहेको दुर्गा मन्दिर परिसरमा बुधवार बिहान अन्दाजी ३५–४० वर्षका एक पुरुषको शव भीषण रूपमा हत्या गरिएको अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उक्त शव टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरी फालिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार टाउकोको बायाँ भाग गम्भीर रूपमा फुटाइएको छ भने एक आँखा पनि नष्ट गरिएको छ। “शवको अवस्था अत्यन्तै भयानक छ। अनुहार समेत चिनिने अवस्थामा छैन,“ डिएसपी गंगा बहादुर थापाले जानकारी दिए। घटनास्थल नजिकै रगतले लतपतिएको ढुङ्गा पनि फेला परेको छ।
शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा फेला परेको भए पनि, मन्दिर भित्रै हत्या गरी शव घिसारेर बाहिर फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। “मन्दिर भित्रको भुइँमा पनि रगत देखिएको छ, शव मन्दिर भित्रै हत्या गरी झिकिएको देखिन्छ,“ डिएसपी थापाले बताए।
मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजेतिर शवबारे जानकारी पाएको बताए। “म मन्दिर साँझ साढे ७ बजे बन्द गरेर गइसकेको थिएँ,“ उनले भने, “बिहान फर्किएपछि पतञ्जलि योग समितिका सदस्यहरूले शव भएको बताएपछि मात्र थाहा पाएको हुँ।“
मन्दिरमा चारवटा प्रवेशद्वार रहेको र मुख्य गेटमा ताला लगाइएको भए पनि अन्य गेटहरूबाट सहजै प्रवेश गर्न सकिने पुजारी पनेरुले जानकारी दिए।
घटना इलाका प्रहरी कार्यालयको ठीक अगाडि रहेको मन्दिरमा भएको भए पनि प्रहरी यसबारे अनविज्ञ रहनुले स्थानीयवासी आक्रोशित बनेका छन्। “प्रहरी अगाडि यस्तो भयानक हत्या हुँदा पनि थाहा नपाउनु गम्भीर लापरबाही हो,“ एक स्थानीयवासीले गुनासो गरे।
प्रहरीले हाल शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र अपराधीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
Discussion about this post