बेलडाँडी । बेलौरी नगरपालिका–१० स्थित निर्मल सारदा आर्यघाट नजिकै मंगलवार बिहान मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका हरिकिसन रानाको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीसहित पार्टीका अन्य नेता तथा कार्यकर्ता पुगेका छन् ।
सम्वेदनाका लागि पुगेका सांसद चौधरीले घटना अत्यन्तै शंकास्पद भएको भन्दै सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई त्रुटिरहित अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले दोषी जोकोही भएपनि कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन्।
रास्वपाले बेलडाँडीले रानाको मृत्युको प्रक्रिया रहस्यमय र शंकास्पद देखिएकाले यथाशिघ्र दोषी पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छन् ।
मृतक रानाका परिवारले उनीहरूलाई पहिले देखिनै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले धम्क्याउने गरेको दाबी गर्दै आएका छन् । तर मारेकै हो भन्ने प्रमाण नभएकाले ठोकुवा गर्न नसकिएको बताएका छन् । तथापि, संकास्पद भनिएको व्यक्तिलाई प्रहरीले हालसम्म नियन्त्रणमा नलिएकोप्रति पीडित परिवारले चिन्ता व्यक्त गरेका छन् ।
परिवारका अनुसार, भैंसीपालन समूहमार्फत प्रदेश सरकारबाट आएको ४० लाख रुपैयाँमा उपाध्यक्ष नाथले आफूले योजना पारिदिएको भन्दै रकमबाट १२ लाख ’हाकिम मिलाउन’ र ४ लाख ’बहिनी सम्झेर’ आफूलाई दिन दबाब दिएको आरोप किसानहरूले बारम्बार लगाउँदै आएका छन्। हाल पनि किसानहरू यही संकामा उपाध्यक्ष नाथमाथि औँलो ठड्याइरहेका छन् ।
यता, उपाध्यक्ष नाथले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरेका छन् । उनले दोषी जोकोही भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
घटना रहस्यमय देखिएकाले अहिले प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ ।
Discussion about this post