लालझाडी, १७ वैशाख। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिकलपट्टीजाई शिविर नजिक मोटरघाट सडकछेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। केराबारी नजिकै सडक छेउमा स्थानीय ३५ वर्षीय राम रेसर राना बुधबार बिहान साइकलबाटै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो।
प्रहरीका अनुसार राना बिहानै सडक किनारमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगेको थियो। रानाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
रानाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको समेत प्रहरीले जानकारी दिएको छ।
सामान्य अवस्थामा स्वस्थ देखिने रानाको यति अचानक मृत्युले स्थानीयहरूलाई स्तब्ध बनाएको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Discussion about this post