कञ्चनपुर जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बेलौरी नगरपालिकाले दलित समुदायका विद्यार्थी र उद्यमीलाई लक्षित गरी छात्रवृत्ति, शैक्षिक सामग्री र स्वरोजगार सामग्री वितरण गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना भएका विद्यार्थीलाई स्कुल झोला र स्टेशनरी सामग्री प्रदान गरिएको हो । साथै, स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि महाकाली बहुमुखी क्याम्पसलाई एक लाख रुपैयाँ बराबरको छात्रवृत्तिको चेक हस्तान्तरण गरिएको छ । नगरपालिकाबाहिर अध्ययनरत दलित विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले नगद छात्रवृत्ति पनि प्रदान गरिएको छ ।
स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले एक युवा उद्यमीलाई सैलुन व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएको नगर प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, वडाध्यक्षद्वय कलबीर चौधरी र लालबहादुर चौधरी, महाकाली क्याम्पस प्रमुख धर्मराज जोशी तथा शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले जातीय भेदभावको अन्त्य र शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका दृढप्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “बेलौरीलाई दोस्रो नगरसभाबाट नै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन नगरपालिका घोषणा गरिएको हो,” उहाँले भन्नुभयो, “सबै समुदायका विद्यार्थीको क्षमता विकासका लागि पालिकाले आवश्यक बजेट छुट्याएको छ ।”
त्यस्तै, उपप्रमुख जोगराम चौधरीले यस्ता कार्यक्रमले दलित विद्यार्थीलाई थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। नगर प्रवक्ता भुलले राज्यको रूपान्तरणमा योगदान दिने दलित समुदाय शैक्षिक क्रान्तिमा पनि अग्रपंक्तिमा रहनुपर्नेमा जोड दिनुभयो।
Discussion about this post