धनगढी । सुदूरपश्चिम प्रदेशसभाकी सांसद जानकी ऐर (बम) को एक व्यक्तिसँगको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा सनसनी फैलिएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेकी ऐरले नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै आर्थिक लेनदेनको प्रस्ताव गरेको अडियो सार्वजनिक भएको हो ।
सार्वजनिक अडियोमा सांसद ऐरको स्वर स्पष्ट सुनिन्छ, जसमा उनी एक व्यक्तिसँग रकम माग्दै भन्छिन्, “लिखित परीक्षा अहिले पहिलेको जस्तो छैन् टाइट छ“ यो अडियो सार्वजनिक भएसँगै नेकपा (एमाले) पार्टीभित्रै आलोचना सुरु भएको छ भने सामाजिक सञ्जालमा आम नागरिकको आक्रोश उर्लिएको छ ।
२०७९ सालमा समानुपातिक (खस आर्य) कोटाबाट प्रदेशसभा प्रवेश गरेकी जानकी ऐर अघिल्लो माओवादी आन्दोलनमा भूमिगत रहँदै सक्रिय राजनीतिमा लागेको पृष्ठभूमिबाट आएकी हुन् । २०७४ मा पुरर्चौडी नगरपालिकाको उपमेयर बनेपछि एमालेको केन्द्रीय संरचनासम्म पुग्न सफल ऐरले आफ्नो पाँच वर्षे कार्यकालमा ‘भ्रष्टाचारविरुद्ध लड्ने’ संकल्प व्यक्त गरेकी थिइन् ।
तर अहिले उनीकै स्वरमा ‘आर्मी भर्तीमा पैसा लिन खोजिएको’ प्रमाण सार्वजनिक भएपछि प्रदेश सरकार, संसद र पार्टीको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।
नेकपा (एमाले) पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा घटनाको भत्र्सना गरेका छन् । कैलालीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा विद्यार्थी र नागरिक समूहहरू सडकमा उत्रिएका छन् । उनीहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति गठन गर्दै सांसद ऐरको तत्काल बर्खास्तीको माग गरेका छन् ।
“जनताको करबाट तलबभत्ता खाने सांसदले बेरोजगार युवाबाट पैसाको माग गर्नु अपराध हो ।” जनप्रतिनिधिका रूपमा पटक–पटक सार्वजनिक मंचमा ‘पारदर्शिता’ र ‘नैतिकता’को भाषण दिने नेताबाटै यस्तो क्रियाकलाप बाहिर आएसँगै प्रदेशसभाको नैतिक आधार कमजोर भएको भन्दै चर्को आलोचना भइरहेको छ ।
यस्तो अडियो सार्वजनिक हुनु, र त्यसमा स्वयं सांसदको स्वर हुनु आफैंमा गम्भीर छ, जसले न केवल ऐरको व्यक्तिगत छवि, तर सिंगो प्रदेश राजनीतिप्रति जनविश्वासमा आँच पु¥याएको छ ।
Discussion about this post