काठमाडौं : भारतबाट ब्रिटेनका लागि उड्न लागेको एयर इन्डियाको विमान गुजरातको अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ।
प्रारम्भिक जानकारी अनुसार, दुर्घटनापछि अहमदावाद अग्नि तथा आपतकालीन सेवा कार्यालयले पाँचवटा दमकल घटनास्थलमा पठाएको छ। विमानमा करिब २९० जना यात्रु सवार रहेको जनाइएको छ।
३०० यात्रु वहन क्षमता भएको उक्त विमान लण्डनका लागि उडान भरिरहेको थियो। दुर्घटनापछि धेरैजना यात्रु घाइते भएको आशंका गरिएको छ। प्रत्यक्षदर्शीहरूले विमानमा तीनपटक विस्फोटजस्तो आवाज आएको बताएका छन्।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण अझै आउन बाँकी छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा विमानस्थल वरपर बाक्लो धुवाँ देखिएको छ। बीबीसीका अनुसार, अहमदाबाद विमानस्थल टर्मिनल–१ का एक प्रबन्धकले “विमानस्थल वरिपरि पुरै धुँवामय देखिएको” बताएका छन्।
हाल उद्धार कार्य जारी रहेको र घाइतेहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको बताइएको छ। भारतका राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घटनाको थप विवरण संकलन गरिरहेका छन्।
Discussion about this post