बेलडाँडी गाउँपालिकामा भ्रमण र इन्धनमा लाखौं खर्च, तर अभिलेख शून्य

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आ.व. २०८०/०८१ मा लाखौंको भ्रमण र इन्धन खर्च गरे पनि त्यसको प्रमाणिकता पुष्टि गर्ने कुनै ठोस अभिलेख देखाउन सकेको छैन।

महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक भएको प्रतिवेदन अनुसार, गाउँपालिकाले कर्मचारी तथा पदाधिकारीका नाममा रु.२५,३७,०२५ भ्रमण खर्च र रु.२,५४,२०० अन्य भ्रमण शिर्षकमा गरी जम्मा रु.२७,९१,२२५ खर्च गरेको देखिएको छ।

तर, उक्त भ्रमणसम्बन्धी आवश्यक प्रमाण– भ्रमण आदेश, टिकट, अनुगमन प्रतिवेदन, खटाइएको स्थान र जिम्मेवारीको विवरण लगायतका कागजातहरू राखिएको छैन।

‘भ्रमण खर्च नियमावली २०६४’ अनुसार, भ्रमण पश्चात कार्यालय प्रमुखबाट प्रमाणित ढाँचामा अभिलेख राख्नुपर्ने र अनुगमन प्रतिवेदन पेश गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, पालिकाको खर्च ढाँचाविहीन र गैरजवाफदेही देखिएको छ, जसले जनधनको उचित प्रयोग भएको नपुष्टि गर्ने महालेखाको ठहर छ।

त्यसैगरी, इन्धन खर्चतर्फ पनि पालिकाको लापरबाही झनै उजागर भएको छ। आर्थिक निर्देशिका २०७७ अनुसार मापदण्डका आधारमा मात्र इन्धन वितरण गर्न सकिने प्रावधान हुँदाहुँदै पनि, बेलडाँडी गाउँपालिकाले रु.१२,८१,००० कर्मचारी इन्धन खर्च र रु.२९,३३,११७ कार्यालय प्रयोजन शिर्षकमा गरी रु.४२,१४,११७ खर्च गरेको छ। तर, प्रयोग भएको इन्धनको मात्रात्मक विवरण, मेशिनको प्रयोग अवधि र इन्धन मापदण्डबारे कुनै अभिलेख उपलब्ध छैन।

गाउँपालिकाको स्वामित्वमा रहेको टिप्पर १, JCB १, रोलर १, मोटरसाइकल २८, स्कुटर ४ र जीप १ को नियमित इन्धन प्रयोग र मर्मतको विवरण समेत अभिलेखमा नराखिएको देखिएको छ। यस्ता लापरबाहीका कारण सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको शंका उब्जिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनले Public Asset Management System (PAMS) को पूर्ण प्रयोग गर्न, इन्धन खर्च मापदण्ड अनुरूप व्यवस्थित गर्न र भ्रमणलगायतका सबै खर्चको प्रमाणिक अभिलेख राख्न पालिकालाई निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित