कैलाली :महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायविरुद्ध सरकार जिम्मेवार हुनुपर्ने मागसहित अखिल नेपाल महिला संघ अनेमसंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
सुदूरपश्चिममा जारी लैङ्गिक हिंसा, यौन शोषण, छाउपडी प्रथा, दाइजो प्रथा, बालविवाह, बहुविवाह लगायतका सामाजिक कुरीतिविरुद्ध सात बुँदे माग राख्दै अनेमसंघले मुख्यमन्त्री कमल बहादुर शाहमार्फत गृह मन्त्रालयसम्म ध्यानाकर्षण गराएको हो।
नेकपा एमाले निकट महिलाहरूको संगठन अनेमसंघले कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पठाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले जानकारी दिइन्।
ज्ञापनपत्रमा भारतबाट फर्केकी कमला लामा नामकी महिलाको छाउगोठमै मृत्यु भएको घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरिएको छ। गत असार २७ गते प्रहरी टोकेको भनिएका लामाको उपचारका क्रममा मृत्यु भएपछि उक्त घटनाले जनमानसमा गहिरो असर पारेको अनेमसंघको भनाइ छ।
त्यस्तै जेठ २२ गते कैलालीको गौरीगंगा–१ मा तुलसी नाथलाई आफ्नै देवरले हत्या गरी शव गहुँबारीमा गाडेको घटनाले पनि गम्भीर सामाजिक प्रश्न खडा गरेको भन्दै संघले आपत्ति जनाएको छ।
अनेमसंघले महिलामाथिका हिंसा नियन्त्रण गर्न कानुनी कार्यान्वयन कडाइका साथ गर्न, हानिकारक परम्पराहरूविरुद्ध अभियान चलाउन, प्रत्येक पालिकामा सुरक्षित महिला आवास गृह स्थापना गर्न, हिंसापीडित महिलालाई तत्काल राहत र न्याय सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्नुपर्ने माग अघि सारेको छ।
महिला उद्यमशीलताको प्रवर्द्धनका लागि अनुदान र सहुलियतको व्यवस्था मिलाउनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ। संघले राज्यको उदासीनता महिलामाथिको हिंसाका घटनाहरू बारम्बार दोहोरिनुमा प्रमुख कारण रहेको उल्लेख गरेको छ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक लागिरहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक हुने प्रतिक्रिया दिएका छन्। अनेमसंघले महिला अधिकारको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि दबाबमूलक कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता जनाएको छ।























Discussion about this post