बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प टोलमा मंगलवार बिहान उखुबारीमा बाघ प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन् ।
स्थानीय गोपाल अधिकारीको उखुबारीमा बिहान करिब ७ बजेतिर एक पाटेबाघ पसेको जनाइएको छ । पूर्वी क्याम्प टोलबाट हुलाकी सडक पार गर्दै बाघ उखुबारीमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
बाघ अझै पनि उखुबारीमै रहेको आशंका गरिएको छ । घटनापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेना र इलाका प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षाकर्मी तथा निकुञ्ज टोलीले बाघलाई सुरक्षितरूपमा जंगलतिर फर्काउने प्रयास गरिरहेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बाघ भगाउनका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गरी तत्कालीन रूपमा आवश्यक टोली परिचालन गरिएको जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले पनि बन र सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण तथा जंगल फर्काउने कार्यमा खटिएको जानकारी दिए । उनले उखु खेतीमा लुक्न सजिलो हुने भएकाले बाघ जस्ता वन्यजन्तु त्यहाँ आकर्षित हुने गरेकाले, निकुञ्ज किनारमा यस्ता बालीको सट्टा वैकल्पिक खेती प्रणाली अपनाउन सुझावसमेत दिए ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले स्थानीयवासीलाई सर्तकता अपनाउन अनुरोध गर्दै, बाघ नियन्त्रणमा लिएर जंगलतिर फर्काउने प्रयास जारी रहेको बताए ।
बेलडाँडीमा पछिल्ला केही वर्षदेखि बाघ र अन्य जंगली जनावरको समस्या बढ्दो क्रममा रहेको छ । निकुञ्जसँग सिमाना जोडिएका किसानहरू वर्षैभरि वन्यजन्तुका कारण पीडित भइरहेका छन् ।
स्थानीयले अब बाघ नियन्त्रण र दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी योजना ल्याउनुपर्ने माग गरेका छन् । उनीहरू वन्यजन्तुबाट जनधनको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन तथा वैज्ञानिक उपाय अवलम्बन गरिनु पर्नेमा जोड दिइरहेका छन् ।


















Discussion about this post