बेलडाँडी । गृहमन्त्री रमेश लेखकै गृह जिल्लामा न्यायको घाम अस्ताउँदै गएको चार महिना भइसकेको छ । भैंसी पालेर जीविकोपार्जन गर्ने किसान हरकिशन रानाको रहस्यमय हत्या (वा आत्महत्या)को सत्य आजसम्म पनि अन्धकारमै छ । दोषी पत्ता लाग्ने आशामा प्रहरीसँग सहयोग गर्दै आएका पीडित परिवार र आफन्तहरू अब भने संयमको डोरी टुटाउँदै सडकमा उत्रिएका छन् ।
गत बैशाख ९ गते विहान, बेलौरी नगरपालिका–१० निर्मल आर्यघाट नजिक, मोटरसाइकलसहित जलेको अवस्थामा हरकिशनको शव फेला परेको थियो । चार महिना बितिसक्दा पनि न अनुसन्धानले टुङ्गो पायो, न दोषी प्रहरीको हातमा प¥यो । बरु, आन्दोलनकारीहरू भन्छन् – “दोषीको राजनीतिक शक्ति यति बलियो छ कि प्रहरी प्रशासनसमेत घुँडामा परेको छ ।
हरकिशन रानाले आफ्नो पसिना बगाएर भैंसी पाले, गाउँ पाल्यो, परिवारको पेट भरÞ्यो, तर उनको मृत्युले गाउँ मात्र होइन, सारा क्षेत्र आक्रोशले दन्काइरहेको छ । पीडित पक्षले “दोषीलाई बचाउन सरकार र प्रहरीको मौनता” को आरोप लगाउँदै सोमबारदेखि इलाका प्रहरी कार्यालय बेलडाँडी घेराउ गर्दै सडक आन्दोलनको थालनी गरेका छन् । चेतावनी स्पष्ट छ, “अब सडक तताउने छौं, जिम्मा प्रहरी प्रशासनले लिनुपर्छ ।”
“हामी रानाथारु सोझासाझा भएकाले हामीलाई हेपाहा दृष्टिकोणले हेरिएको छ । दोषीलाई सरकार र प्रहरी प्रशासनले संरक्षण गरिरहेको छ,” आन्दोलनमा सहभागी मृतककी छोरी लक्ष्मी रानाले प्रहरीमाथि गम्भीर आक्रोश पोखिन् ।
उनका अनुसार, मृतक हरकिशनले बारम्बार गंगाजमुना गाईभैंसी पालन समूह र आफ्नो परिवारलाई आफुलाई ज्यान मार्ने धम्की आएको कुरा सुनाएका थिए । तर, प्रहरीले शंका गरिएको व्यक्तिलाई समात्ने सट्टा परिवारकै सदस्यमाथि उङ्ग्याउँदै घटना अल्झाइरहेको उनको गुनासो छ ।
हरकिशनकै आम्दानीमा निर्भर परिवार अहिले जीविकोपार्जनको गहिरो संकटमा छ । अनुसन्धान नटुंगिँदा विमाको रकमसमेत अड्किएको छ । विमा कम्पनीले प्रहरी प्रतिवेदनको आधारमा मात्र क्षतिपूर्ति दिने भएकाले, अहिले परिवार “न दोषी पत्ता लाग्ने, न विमा पाउने” दोहोरो पीडामा छ ।
प्रहरी प्रशासन भने ‘अनुसन्धान जारी’को पुरानै उत्तर दिइरहेको छ । तर, समय वित्दै जानेक्रममा प्रहरीप्रति स्थानीयको विश्वास घट्दै गइरहेको छ । गृहमन्त्रीकै गृह जिल्लामा यस्तो घटनाले स्थानीयलाई अझै निराश तुल्याएको छ ।
रानाथारु अगुवाहरूले चेतावनी दिएका छन् – “दोषी तत्काल पत्ता लागेन भने आन्दोलन बेलडाँडी मात्र होइन, सुदूरपश्चिमभर फैलाउनेछौं । अब सडक तताउने छौं, जिम्मा प्रहरी प्रशासनले लिनुपर्छ ।” सोमबारदेखि सुरु भएको इलाका प्रहरी कार्यालय बेलडाँडी घेराउ आन्दोलन यसै चेतावनीसहित बढ्ने सम्भावना रहेको छ ।
भिडियो हेर्न तलको लिंक खोल्नुस्






















Discussion about this post