कञ्चनपुरका दुई पालिकामा धमाधम छाउगोठ भत्काइँदै, ५९ संरचना हटाइए

कञ्चनपुर :कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने अभियान तीव्र रूपमा अघि बढाइएको छ। असार २८ गते कृष्णपुर नगरपालिका–८ की २८ वर्षीय कमला दमाईंको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै पालिकामा छाउगोठ भत्काउने कार्य तत्काल सञ्चालन गर्न आग्रह गरेको थियो।

त्यसअनुसार कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले हालसम्म ५९ छाउगोठ भत्काइसकेका छन्। बुधबार मात्रै कृष्णपुर–१ हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएका छन्। यसअघि कृष्णपुरले १६ र वेदकोटले २३ छाउगोठ भत्काइसकेका थिए। दुवै पालिकाले अभियानलाई निरन्तरता दिने जनाएका छन्।

जिल्लाका अन्य पालिकामध्ये दोधारा चाँदनी, लालझाडी र भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा छाउगोठ नभएको दाबी गरेका छन्। भीमदत्त नगरपालिकाले त छाउगोठ निर्माण नगर्न कार्यविधि तयार गरेर लागू गर्ने तयारीसमेत गरेको छ। दोधारा चाँदनीमा भने छुट्टै छाउगोठ नभए पनि केही घरमा मासिक धर्मका बेला महिलाले बस्ने अलग कोठा भेटिएको छ।

लालझाडी गाउँपालिकाले रानाथारू समुदायले महिनावारी नमान्ने र अन्य समुदायले छाउगोठ नबनाउने परम्परा रहेको जनाएको छ। पुनर्बास, बेलौरी, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाले भने वडा कार्यालयमार्फत तथ्याङ्क संकलन गरी आवश्यक परे भत्काउने कार्य अघि बढाउने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित