बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भगवान् रामको चरित्रमा आधारित रामलिला नाटक मञ्चन गर्ने तयारीसँगै कलाकारहरूलाई तालिम दिन थालिएको छ । बेलडाँडी गाउँपालिका–१ स्थित सिद्धनाथ रामलिला समितिको पहलमा यस वर्ष विशेष रूपमा तिहार पर्वको आसपासमा रामायणमा आधारित लिला प्रस्तुत गरिने भएको हो ।
समितिका अध्यक्ष श्यामबहादुर रावलका अनुसार स्थानीय कलाकारहरूको सहभागितामा हुने यस वर्षको रामलिला मार्फत पुरुषोत्तम रामको आदर्श जीवन, सत्य र धर्मप्रति प्रतिबद्धता जस्ता प्रसंगहरू देखाइने तयारी भइरहेको छ । उनले भने, “अहिलेको पुस्ता कुलततर्फ बढी आकर्षित देखिँदै गएको छ, त्यसैले लागुऔषध दुरुपयोग न्युनिकरणका लागि पनि यस्तो आध्यात्मिक कार्यक्रम महत्त्वपूर्ण हुनेछ ।”
यसैगरी शिक्षक तथा समाजसेवी धनसिंह महराले बेलडाँडीको सिद्धचोकमा विगत पचौं पटक रामलिला आयोजना भइसकेको उल्लेख गर्दै यस वर्ष छैटौं पटक आयोजना गर्न लागिएको जानकारी दिनुभयो । महराले भने, “भगवान् रामको चरित्रमा आधारित नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यसमा सबै पक्षको सक्रियता जरुरी छ ।”
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले यसलाई समुदायका लागि प्रेरणादायी भनेका छन् । उनले शुभकामना व्यक्त गर्दै “रामलिलाले दिने ज्ञानलाई यदि सबैले सकारात्मक तरिकाले ग्रहण गर्ने हो भने यो समाज रुपान्तरणतर्फको ठूलो कदम हुनेछ ।”
रामायणमा आधारित यो सांस्कृतिक प्रस्तुति केवल मनोरञ्जन नभई धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने एउटा माध्यमका रूपमा रहेको आयोजकले जनाएका छन् ।




















Discussion about this post