बेलडाँडी । चार महिना अघि मोटरसाइकलसहित जलेको अवस्थामा संकास्पद मृत भेटिएका भैंसीपालक किसान हरकिशन राना प्रकरण अझै अन्धकारमै छ। प्रहरी प्रशासनले अहिलेसम्म औपचारिक रूपमा केही बोलेको छैन। तर, अनुसन्धानमै रहेको घटनाबारे बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथकै अडियो बाहिरिएपछि पीडित परिवार र गाउँलेबीच शंका अझ गहिरिँदै गएको छ ।
उपाध्यक्ष नाथले अडियोमा “६-७ जोड कपडा लगाएको, पेट्रोलले मात्र मान्छे नजल्ले, कपडाले त पोल्ने हो” भन्ने गरी प्रष्ट व्याख्या गरेको पाइन्छ । घटना घरकाले घटाएको या आत्म हत्या गरेको जस्ता अभिब्याक्ति दिएका छन् । त्यति मात्र होइन ४ महिना वित्न लाग्दा समेत दोषी पत्ता नलागेपछि पिडित परिवार र गाउँलेहरु आन्दोलित भएका थिए । पिडित परिवार र गाउँलेहरुले गरेको आन्दोलनलाई उपाध्यक्ष नाथले आन्दोलन गर्न उनीहरुले लाज मार्नुपर्ने अभिव्यक्ति दिनुका साथै उसको परिवारलाई अव पैसाको मात्र आस भएको अडियोमा भेटिएको छ ।
प्रश्न उठ्छ – प्रहरी नै तथ्य निकाल्न नसकेको अवस्थामा उपाध्यक्षलाई यस्तो “ज्ञान” कसरी भयो ? प्रहरीसम्मले औपचारिक मुख नखोलेको अवस्थामा, उपाध्यक्षकै यस्ता भनाइ सुन्दा पिडित परिवार मात्र होइन, गाउँले समाज पनि ससंकित बनेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भैसीपालक किसान समूहका लागि पठाएको ४० लाख रुपैयाँ अनुदानमध्ये १२ लाखको चेक उपाध्यक्ष नाथले हाकिम मिलाउन भन्दै लिएको र थप ४ लाख नगद ‘बहिनी सम्झेर’ मागेको आरोप किसान समूहले सार्वजनिक गरेका थिए ।
मृतक हरकिशन रानाले धम्की आएको खुलेरै बताउँदै आएका थिए। पछि सो १२ लाखको चेक भीमदत्त नगरपालिका मटेना निवासी इन्द्रा नाथ नामकी महिलाको नाममा काटिएको भेटियो। इन्द्राले भनिन् — आफूले हरकिशनलाई चिनेकी नै थिइनन्, तर उपाध्यक्ष नाथकै दबाबमा चेक साट्न बाध्य भएकी थिइन्। खातामा पैसा नभएपछि चेक बाउन्स भए पनि अपराधबोधले उनले बैंकलाई पत्र लेखेर चेक नबाउन्स गर्न आग्रह गरेको बताइन्।
१२ लाखको चेक लुकाउन र रानालाई उल्टै बदनाम गर्न उपाध्यक्ष नाथले पत्रकार सम्मेलनमै ‘नक्कली मामा’ खडा गरे। ती ‘मामा’ले रानाले पटक–पटक ऋण लिएको दाबी गरेका थिए। तर अडियो प्रमाणअनुसार, त्यही व्यक्तिले हरकिशनकै घर पुगेर “गल्ती तिम्रो पनि हो, उपाध्यक्षलाई मिलाउने जिम्मा मेरो” भन्दै दबाब दिएको पुष्टि भएको छ।
यो विवादले गाउँमै ठूलो हलचल मच्चायो। बेलडाँडीका एमालेसहित ५ दल र स्थानीय बासिन्दाले उपाध्यक्ष नाथलाई पालिका प्रवेश नै निषेध गरेका थिए। लगातार सात दिनसम्म आन्दोलन चले पनि पछि राजनीतिक दबाबमा स्थगित गरियो। नेपाली काँग्रेसले ३ सदस्यीय छानबिन समिति बनाएर प्रतिवेदन तयार गरे पनि आजसम्म सार्वजनिक गरिएको छैन। यसले सुरुदेखिनै रानाको न्यायलाई राजनीतिक खेलमा लपेटिएको प्रष्ट हुन्छ। हरकिशन रानाको मृत्युबारे प्रहरी प्रशासनले कुनै ठोस तथ्य सार्वजनिक गरेको छैन।
राना मेहनती, आत्मनिर्भर किसान थिए। उनले स्वदेशमै बसेर केही गर्ने सपना देखेका थिए। तर उनको रहस्यमय मृत्युले गाउँमा निराशा छाएको छ। “देशमै केही गरेर खान खोज्दा मृत्युको रहस्यमा गाडिनुपर्ने हो भने विदेशिनु नै ठीक जस्तो लाग्छ,” गाउँका युवाले आक्रोश पोख्छन्।
हरकिशन रानाको मृत्यु केवल एउटा व्यक्तिको जीवनको अन्त्य मात्र होइन, स्वदेशमै श्रम गरेर बाँच्न खोज्ने मान्छेको सपनाको हत्या पनि हो। अब ढिलो नगरी प्रहरी प्रशासनले निष्पक्ष र पारदर्शी अनुसन्धान अघि बढाउनैपर्छ। उपाध्यक्ष शान्ति नाथमाथि उठेका प्रश्नहरूको जवाफ सार्वजनिक गरिनु र सत्य बाहिर ल्याउनु राज्य संयन्त्रको प्रत्यक्ष जिम्मेवारी हो।





















Discussion about this post