बेलडाँडी । घाम झुल्किनासाथ बेलडाँडी–दैजी सडकमा हरियो रंगको अटो गुडिरहेको देखिन्छ । सामान्य यात्रुहरूको लागि यो अटो केवल यात्राको साधन हो, तर चालक धनराज उपाध्यायका लागि भने यो एउटा समाज रुपान्तरणको सानो मंच हो ।
धनराजले अटोको स्टेयरिङ मात्र समात्दैनन्, उनी यात्रुसँग संवादको सूत्र पनि समात्छन् । अटोभित्रै उनी प्रश्न गर्छन्, “हाम्रो पालिकामा विकासका प्राथमिकता के हुनुपर्छ?” अनि यात्रुहरू पनि खुल्न थाल्छन् । कुनैले शिक्षा उठाउँछ, अर्कोले स्वास्थ्य । यसरी एउटा साधारण यात्रा क्रमशः चेतनाको बहसमा परिणत हुन्छ ।
धनराज उपाध्यायको बाल्यकाल बेलडाँडी गाउँपालिका–४ मा वित्यो । सानैदेखि मेहनती, इमान्दार र कर्मठ भनेर चिनिने उनी जीवन धान्न स्वदेशदेखि विदेशसम्म भ्याइसकेका छन् । तर, परदेशको भोगाइले उनलाई एउटा प्रश्न झक्झक्याइरह्यो ? “के आफ्नै ठाउँमा बसेर केही गर्न सकिँदैन?” त्यही प्रश्नको जवाफ खोज्दै उनले अटो व्यवसाय रोजे । साधारण रोजगारीका रूपमा सुरु गरेको कामलाई उनले समाजसेवाको स्वरूपमा विस्तार गरे ।
धनराजले आफ्नो अटो यात्रुलाई ‘सचेतनाको कक्षा’ बनाएका छन् । उनका अटोमा चढ्नेहरूले केवल गन्तव्यसम्म पुग्दैनन्, बरु विचार र दृष्टिकोणको नयाँ खुराक पनि पाउँछन् ।
विकास, सुशासन, सामाजिक उत्तरदायित्व र देशप्रतिको माया-यी नै उनको संवादका मुख्य विषय हुन् ।
“उनी भन्छन्, सानो बहसले पनि ठूलो परिवर्तन ल्याउन सक्छ,” “यात्रुको मनमा एउटा प्रश्न उठाउन सके पनि त्यो मेरो लागि ठूलो उपलब्धि हो ।” धनराजले अटो व्यवसायलाई मात्रै सीमित राखेनन् । केही दिन अघि उनले दैजी क्षेत्रमा अटो व्यवसायीलाई संगठित गर्दै सरसफाइ अभियान सञ्चालन गरे । अटो स्टेसन वरिपरिको फोहोर सफा गर्दै उनले सन्देश दिए, “व्यवसाय भनेको केवल आम्दानी होइन, समाजप्रतिको जिम्मेवारी पनि हो ।”
धेरै युवाहरू विदेशिने दौडमा लागिरहेका बेला धनराजको बाटो फरक छ । उनी भन्छन्, “विदेश विदेश भनेर दौडिनु भन्दा स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास चाहिन्छ । अवसर खोज्ने होइन, सिर्जना गर्ने हो ।”
आज धनराज उपाध्याय केवल अटो चालक मात्र होइनन्, समाजसेवी, संवादकर्ता र प्रेरक व्यक्तित्वको रूपमा परिचित भएका छन् । उनका साना–साना पहलहरूले स्थानीय युवालाई ठूलो सन्देश दिएका छन्-स्वदेशमै बसेर पनि उद्यम गर्न सकिन्छ, समाजलाई योगदान दिन सकिन्छ ।





















Discussion about this post