कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दी सम्पर्कमा आउन थाले, प्रशासनले सबैलाई फर्किन आग्रह

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु क्रमशः सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालयले अपिल जारी गरी स्वेच्छाले फर्किन आग्रह गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनसँग सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागारले जनाएको छ ।

कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन् । उनका अनुसार, “कतिपयले आफैं फर्किने जानकारी फोनमार्फत दिएका छन् भने केही इलाका प्रहरी कार्यालयको माध्यमबाट पनि सम्पर्कमा आएका छन् । प्रहरीले समेत केही कैदीलाई पक्राउ गरी कारागारमा ल्याएको छ ।”

बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गड्डाचौकी सीमानामा नियन्त्रणमा लिएर नेपाल प्रहरीले बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दीमध्ये ४५५ जना मङ्गलबार साँझ भागेका थिए । भागेकामध्ये नौ जना बुधबार बिहानै आफैं फर्किएका थिए भने २३ जना बन्दी भने कारागारमै रहेका थिए ।

कारागार प्रशासनका अनुसार कञ्चनपुर कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदी छन् । साथै, महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत विभिन्न मुद्दामा सजाय पाएका कैदीबन्दी राखिएका छन् । कारागार प्रशासनले भागेकामध्ये अझै सम्पर्कमा नआएकाहरुलाई शीघ्र फर्किन र कानुनी कारबाहीबाट जोगिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित