बेलडाँडी । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले आयोजना गरेको अन्तरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भीमदत्त नगरपालिका प्रथम, बेलडाँडी गाउँपालिका द्वितीय र बेलौरी नगरपालिका तृतीय स्थानमा परेका छन् । दोधारा–चाँदनी नगरपालिकाले सान्त्वना स्थान हात पार्यो ।
भीमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टका अनुसार, प्रतियोगितामा बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, लालझाडी लगायतका पालिकाका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विजयी पालिकाहरूलाई क्रमशः नगद ६, ५, ४ र १ हजार पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । त्यस्तै, सहभागी सबै टोलीलाई समेत प्रोत्साहनस्वरूप १ हजार रुपैयाँका दरले पुरस्कार दिइएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पालिकाका सरोकारवाला, निजी तथा सरकारी विद्यालयका शिक्षकहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
यस वर्ष बेलडाँडी गाउँपालिकाबाट आयुष प्रसाद भट्ट (सरस्वती मावि झरनासागर), हिमेश रोकाया (गणेश मावि भुर्षा) र ममता निरौला (सिद्धनाथ मावि चौफेरि)ले टोलीगत सहभागिता जनाएका थिए । भौगोलिक हिसाबले कञ्चनपुरकै सानो पालिका भए पनि बेलडाँडीले ठूलो नगरपालिकाहरुलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गर्दा यहाँका अभिभावक, शिक्षक र विद्यार्थीहरूले गर्व अनुभव गरेका छन् ।
बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले विद्यार्थीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै, “हाम्रा भाईबहिनीहरुले हाजिरी जवाफमा समेत बेलडाँडीको शिर उचालिदिएका छन् । यसले बेलडाँडीको शैक्षिक सम्भावना उजागर भएको छ ।,” । उहाँले बेलडाँडीको शैक्षिक सुधारका लागि आफू निरन्तर लागिपरेको र कतिपय तत्वहरूले शिक्षा प्रणाली तहसनहस पार्ने प्रयास गरे पनि आफ्नो टिम सचेत रहेको समेत प्रष्ट पार्नुभयो ।
रानाले शैक्षिक सुधार सामूहिक अभियान भएको भन्दै विद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला सबै मिलेर यसको निगरानी र संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।






















Discussion about this post