जेन–जी आन्दोलनको एक महिना : घाउहरू अझै रसाइरहेका छन्, सपना अझै बलिरहेका छन्

कञ्चनपुर । आज असोज २३ गते—ठिक जेन-जी आन्दोलनको एक महिना बित्यो, जब ‘जेन–जी आन्दोलन’ का नारा सडकमा गुन्जिएका थिए र गोलीहरूको आवाजले देश थरथर काँपेको थियो । त्यो दिन संसद भवन अगाडिको सडक रगत, नारा र सपनाले रङ्गिएको थियो । आज पनि ती रगतका डाम, ती चिच्याहट र ती आँखाका चमकहरू देशका मुटुमा बाँचिरहेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका कोठा अझै पनि ती पीडितहरूको सासले भरिएका छन् । आन्दोलन रोकिएको छ, तर पीडा रोकिएको छैन । सरकारका बोलीहरू परिवर्तनको सपना देखाउँछन्, तर वास्तविकता भने अझै पुरानै छ-घाउ सुक्दैछन्, तर अन्यायको चोट अझै बलिरहेको छ ।

२१ वर्षीय सुरेश पोखरेल अहिले पनि अस्पतालको बेडमै छन् । तिघ्रामा लागेको गोलीको पाँचपटक शल्यक्रिया भइसकेको छ । उनी भन्छन्, “हामी अपराधी होइनौँ, माग लिएर सडकमा निस्केका हौँ । सरकारले त फोटो खिच्छ, तर घाउमा मलम लगाउँदैन । परिवर्तन ? एक प्रतिशत पनि छैन ।” तर उनको स्वरमा निराशा मात्र छैन, विद्रोह पनि छ । “निको भएपछि सबै घाइतेहरू भेला भएर फेरि निस्क्ने तयारीमा छौँ । यसपालि हामी चुप लागेर बस्दैनौँ ।”

२५ वर्षीय राकेश महतो अब कहिल्यै हिँड्न सक्दैनन् । गोली मेरुदण्डमा लागेको छ । दसैँका दिन उनले अस्पतालको बेडबाट देशलाई सम्झिए । “मलाई ज्यान गयो भने पनि मतलब थिएन,” उनी भन्छन्, “देश बदलियोस् भन्ने थियो । तर सपना धुम्मिएको छ ।” तर उनको अन्तिम वाक्यले अझै पनि एउटा ज्वाला बोक्छ- “पुनः आन्दोलन भयो भने म फेरि सडकमा उत्रन्छु, गोली खानु परे पनि देशका लागि तयार छु ।

मदन कार्कीको छाती र पाखुरामा गोलीका निसान अझै ताजा छन् । दसैँमा टीका नलगाउन पाउनु उनको पीडा हो, तर गर्व पनि त्यति नै छ । “अब यो देशमा युवा बोल्न सक्छन् भन्ने डर हटिसक्यो,” उनी भन्छन । “हामीले जनतालाई सम्झाएका छौँ-देश हाम्रो हो, डरको होइन ।”

२९ वर्षीय सञ्जीव सापकोटाले आन्दोलनको दोस्रो दिन हात गुमाए, तर हिम्मत होइन । “जीवन गाह्रो छ, तर सोच सकारात्मक राख्नुपर्छ,” उनी भन्छन् । उनको मुस्कानमा पनि आन्दोलनको आत्मा झल्किन्छ-“शरीर अपाङ्ग भयो भनेर केही बिग्रेको छैन । साँचो परिवर्तन तब हुनेछ, जब सरकारले घाइतेहरूको चिच्याहट सुन्ने क्षमता पाउँछ ।”

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार आन्दोलनमा घाइते १९२ जनामध्ये १८१ जना घर फर्किसकेका छन् । बाँकी ११ जना अझै उपचारमा छन् । शरीरका घाउ सुक्दैछन्, तर मनका घाउ अझै रसाइरहेका छन् ।

एक महिनापछि पनि ती युवाहरूको स्वर देशका कानमा पुग्न सकेको छैन । नेताहरूले भेटे, तस्बिर खिचे, तर न्यायका प्रतिनिधिहरू मौन छन् । हरेक घाइतेको अनुहार एउटा प्रश्न बनेको छ-“हामीले रगत बगायौँ, अब तपाईंहरूले के बगाउनुभयो ?”

‘जेन-जी आन्दोलन’ ले देशलाई एउटा गहिरो सन्देश दिएको छ-परिवर्तन शब्दले होइन, साहसले हुन्छ । आज ती युवाहरूको हातमा पट्टि छ, तर मनमा आगो छ । कसैले हिँड्न सक्दैन, कसैले हात गुमाएको छ, तर सबैका आँखामा एउटै चमक छ-आफ्नो देश फेरि पनि बनाउन सकिने विश्वास ।

आज, आन्दोलनको ठिक एक महिना पुगेको दिन, प्रश्न फेरि देशभर गुन्जिएको छ-के यो देश ती युवाहरूले सपना देखेझैँ बन्ने हो ? कि फेरि पनि सडकमा रगत र नारा मात्र बग्ने ? रगत सुक्ला होला, तर सपना अझै बलिरहेका छन् ।

घाउहरू रसाइरहेका छन्, तर आँखा अझै भविष्य खोजिरहेका छन, त्यो भविष्य जसमा देशले आफ्ना छोराछोरीको बलिदान व्यर्थ नजान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित