कञ्चनपुर । सार्वजनिक खर्च नियन्त्रण गर्दै मितव्ययिता अपनाउन सरकारले होटल तथा महँगा सभाहलमा सरकारी कार्यक्रम नगर्न सबै सरकारी निकायलाई निर्देशन दिइरहेका बेला कञ्चनपुरको एक वडाले भने होटलमै कार्यक्रम सञ्चालन गरेको विषय विवादमा तानिएको छ ।
सरकारले मन्त्रालय, विभाग, आयोगदेखि स्थानीय तहसम्मका निकायलाई यथासम्भव आफ्नै कार्यालय वा सरकारी संरचनामा कार्यक्रम गर्न निर्देशन दिएको छ । तालिम, गोष्ठी, अन्तरक्रिया तथा समीक्षा बैठकजस्ता कार्यक्रम होटल र रिसोर्टमा गर्दा अनावश्यक खर्च बढ्ने भन्दै त्यसमा नियन्त्रण गर्न जोड दिइएको छ ।
यही सन्दर्भमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ ले एक होटलमा कार्यक्रम सञ्चालन गरेपछि त्यसबारे समाचार सङ्कलन गर्न पुगेकी पत्रकार ऐश्वर्य कुँवर र वडा अध्यक्ष रविन्द्रप्रसाद देवकोटाबीच कार्यक्रमस्थलमै भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
पत्रकार कुँवरले आफू सार्वजनिक सरोकारको विषयमा रिपोर्टिङ गर्न पुगेको बेला वडा अध्यक्षले आफूलाई ठेकेदारसँग पैसा माग्ने तथा फिरौती असुल्ने जस्ता गम्भीर आरोप लगाएको बताएकी छन् । उनले आरोपको प्रमाण माग्दा विवाद चर्किएको दाबी गरेकी छन् ।
यता वडा अध्यक्ष देवकोटाले भने आफूहरूले आयोजना गरेको बालबालिकाहरुका लागि व्यक्तित्व विकास सम्वन्धी ३ दिवसीय कार्यशाला गोष्ठी चलिरहेका बेला पत्रकार कुँवर आएर असान्दर्भिक विषय उठाउँदै कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आफूले कुनै गल्ती गरेको भए कानुनी प्रक्रियाबाट छानबिन गर्न आग्रह गर्दा पनि अनावश्यक विवाद सिर्जना गरिएको उनको भनाइ छ । उनले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
प्रहरीका अनुसार कार्यक्रमस्थलमा एक वरिष्ठ सहायक निरीक्षक (सई) ले लागुऔषधसम्बन्धी सचेतना प्रशिक्षण दिइरहेका बेला विवाद सुरु भएको थियो। पत्रकार र वडा अध्यक्षबीच चर्काचर्की भएपछि कार्यक्रमस्थलको वातावरण तनावपूर्ण बनेको र शान्ति, सुरक्षा कायम गर्न प्रहरीले पत्रकार कुँवरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाले दुईवटा महत्वपूर्ण प्रश्न एकैसाथ उठाएको छ । पहिलो, मितव्ययिताको सरकारी नीति विपरीत स्थानीय तहले होटलमा कार्यक्रम सञ्चालन गर्नु कत्तिको जायज थियो भन्ने विषय । दोस्रो, सार्वजनिक निकायका कामकारबाहीमाथि प्रश्न उठाउन पुगेका सञ्चारकर्मीप्रति जनप्रतिनिधिको व्यवहार र आरोप-प्रत्यारोपको शैली कत्तिको जिम्मेवार थियो भन्ने प्रश्न ।
सार्वजनिक पदमा रहेका जनप्रतिनिधिले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने हुन्छ भने सञ्चारकर्मीले पनि समाचार सङ्कलनका क्रममा व्यावसायिक मर्यादा र आचारसंहिता पालना गर्नुपर्ने अपेक्षा रहन्छ । तर दुवै पक्षबीचको विवाद सार्वजनिक रूपमा चर्किँदा स्थानीय सरकार, सञ्चार क्षेत्र र नागरिक समाजमा मिश्रित प्रतिक्रिया देखिएको छ ।
घटनाको वास्तविकता, होटलमा कार्यक्रम आयोजना गरिएको कारण, पत्रकारमाथि लगाइएका आरोपको सत्यता तथा कार्यक्रमस्थलमा भएको व्यवहारबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी तथ्य बाहिर ल्याउनुपर्ने आवश्यकता देखिएको छ । सार्वजनिक सरोकारसँग जोडिएको विषय भएकाले कानुनी र संस्थागत प्रक्रियामार्फत सत्य तथ्य उजागर हुनु नै सबै पक्षका लागि हितकर हुने सरोकारवालाहरूको भनाइ छ ।























Discussion about this post