कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ मा रक्सी पिउने क्रममा भएको विवादले शुक्रबार राति एक जनाको ज्यान गएको छ । २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री हुन् ।
डीएसपी सिंहले बताए अनुसार, “पसलमा रक्सी पिउँदै गर्दा सामान्य गालीगलौजबाट सुरु भएको विवाद बढ्दै गएपछि विक र क्षेत्रीले राति ११ः४५ बजे धारिलो हतियार प्रयोग गरी केशरसिंहको घाँटी रेटे ।”
हत्या गरेपछि दुवै जना आरोपितले केशरसिंहको टाउको बोकेर आफन्तकहाँ पुगेका थिए । आफन्तको सुझावमा उनीहरू प्रहरीमा आउँदै गर्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको सिंहले बताए ।
प्रहरीका अनुसार हत्यामा संलग्न दुई युवाको केशरसिंहसँग पहिलेदेखि कुनै रिसिबी वा चिनजान थिएन । “रक्सी पिउँने क्रममा सामान्य झगडा नै ज्यान जाने गरी विकसित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,” डीएसपी सिंहले भने ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















Discussion about this post