बेलडाँडी गाउँपालिकाको स्वास्थ्य बजेट : योजना सुन्दर, कार्यान्वयन कमजोर ?

बेलडाँडी । बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रमा करिब करोडौँ रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । “स्वास्थ्य हाम्रो अधिकार” भन्ने नारासहित तयार गरिएको वार्षिक योजना हेर्दा गाउँपालिकाले मातृशिशु स्वास्थ्यदेखि औषधि खरिद, स्वास्थ्यकर्मी प्रोत्साहन, महिला स्वयंसेविका सुविधा, डिजिटल सेवा, एम्बुलेन्स इन्धन र फार्मेसी सञ्चालनसम्मका विषयमा रकम छुट्याएको देखिन्छ । तर योजनाअनुसार परिणाम प्राप्त भएको छ त ? भन्ने प्रश्न भने अझै खुलेको छ ।

स्वास्थ्य बजेटका शीर्षकहरू सुन्दर छन् । फार्मेसी सञ्चालन, औषधि खरिद तथा सफ्टवेयर व्यवस्थापन, करार कर्मचारी र स्वास्थ्यकर्मीका पोषाक र प्रोत्साहन, नाइट खाजा, मातृ स्वास्थ्य सेवा, खोप कार्यक्रम, आयुर्वेद औषधि खरिद, आँखाअस्पताल सहयोगदेखि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमसम्म ।

यी सबै शीर्षकहरूले बेलडाँडीको स्वास्थ्य क्षेत्रप्रतिको गाउँपालिकाको प्राथमिकता प्रष्ट देखाउँछ । तर कागजमा मात्रै होइन, व्यवहारमा कति कार्यान्वयन भयो ? भन्नेमा आम नागरिकको चासो र प्रश्न बढ्दै गएको छ ।

गाउँपालिकाले संघीय, स्थानीय र आन्तरिक स्रोतबाट करोडौँ रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । तर ती खर्चहरूको अनुगमन र मूल्यांकन कोले गर्छ ? के गाउँसभाले मात्र कागजी प्रतिवेदनमा सीमित रहने हो ? के स्वास्थ्य समितिहरूले वस्तुगत मूल्यांकन गर्छन् ? यी प्रश्नहरू अझै अस्पष्ट छन् ।

स्थानीय नागरिकहरूले भने “स्वास्थ्य सेवामा सुधारभन्दा पनि खर्च देखाउने होड बढी देखिन्छ” भन्ने गुनासो राखिरहेका छन् । कतिपय स्वास्थ्य संस्थामा औषधि अभाव छ, कतिपयमा स्वास्थ्यकर्मी नियमित उपस्थित नहुने गरेको स्थानीयवासीहरू गुनासो गरिरहन्छन् ।

बजेट सेवाग्राहीमुखी हुनुपर्नेमा धेरै निर्णय कार्यालयमुखी र कागजी भएको भन्दै आलोचना बढ्दै गएको छ । एक स्थानीय महिला समूहकी प्रतिनिधिले भनिन्, “स्वास्थ्यमा बजेट त धेरै आएको सुनिन्छ, तर छोरी जन्मिए ३ हजार रुपैयाँ लिन पनि पटक–पटक धाउनु पर्छ, धेरै झन्झटिलो छ ।” यस्तो गुनासोले बजेट र सेवा बीचको दूरी प्रष्ट देखाउँछ ।

बजेट विनियोजन पारदर्शी देखिए पनि यसको खर्च विवरण र प्रभाव मूल्यांकन सार्वजनिक नभएकोले प्रश्नहरू बारम्बार उब्जिरहन्छन् । औषधि खरिद कति भयो ? महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनको रकम समयमा पुग्छ ? नियमित खोप कार्यक्रमका लागि छुट्याइएको रकम प्रभावकारी उपयोग भयो ? यी प्रश्नहरूको जवाफ पाउन स्थानीय तहले तथ्यसहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग भइरहेका छन्।

बेलडाँडी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण रकम छुट्याएको प्रशंसनीय कार्य हो । तर यस्ता योजनाले सेवाग्राहीको जीवनस्तरमा सुधार ल्याएनन् भने त्यसको अर्थ केवल अंक र शीर्षकमा सिमित रहन्छ ।
अब पालिकाले कागजमा होइन, मैदानमा नतिजा देखिने गरी कार्यान्वयन र अनुगमनमा जोड दिनुपर्ने समय आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित