काठमाडौँ :शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षा मन्त्रालयले आइतबार जानकारी तथा ध्यानाकर्षणपत्र जारी गर्दै सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने स्पष्ट गरेको हो। मन्त्री पुनले शिक्षकहरूलाई राजनीतिबाट अलग रहन आग्रह गर्दै कानुनी कारबाही गर्न मन्त्रालय तयार रहेको बताएका छन्।
मन्त्रालयको ध्यानाकर्षणपत्रमा भनिएको छ, “राजनीतिक गतिविधिमा संलग्न शिक्षक, प्राध्यापक वा कर्मचारीमाथि पदबाट बर्खास्तसम्मको कारबाही हुन सक्ने व्यवस्था छ।”
त्यसैगरी, मन्त्री पुनले राजनीतिक दलका भ्रातृ संगठनका रूपमा रहेका शिक्षक र प्राध्यापक संघ–संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने घोषणा गरेका छन्। उनका अनुसार, “शिक्षक महासंघ र प्राध्यापक संघहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक चरित्रका रूपमा पुनर्गठन गर्नुपर्ने आवश्यकता छ।”
मन्त्री पुनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने र शैक्षिक गुणस्तर सुधार्ने लक्ष्यसहित नयाँ नीति लागू गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिएका छन्।


















Discussion about this post