बेलडाँडीमा पहिलो बालक्लब सम्मेलन : बालबालिकामा उत्साह थपियो

बेलडाँडी । समावेशी गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत मङ्गलबार बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल आधारभूत विद्यालयमा बालक्लब सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाभित्रका १४ सामुदायिक विद्यालयका प्रत्येक बालक्लबबाट ३ जना प्रतिनिधि गरी ४२ जना सदस्य सहभागी भएका थिए। सम्मेलनको प्रमुख आतिथ्य गाउँपालिका प्रमुख हरिशचन्द्र राना रहनुभएको थियो। गाउँपालिका उपाध्यक्ष, वडा नं. २ र ५ का वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरू र पालिका स्तरीय बालसञ्जालका अध्यक्षलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिकाले आफ्ना बालक्लबको परिचय, विद्यालयस्तरमा सञ्चालन भएका गतिविधिहरू प्रस्तुत गर्दै सरोकारवालासमक्ष आफ्ना जिज्ञासा राखेका थिए। उनीहरूले पालिकामार्फत बालक्लब र बालबालिकाका लागि भइरहेका कार्यक्रमबारे पनि जानकारी मागेका थिए।

बालबालिकाबाट आएका जिज्ञासाको जवाफ दिँदै प्रमुख अतिथि रानाले गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि तथा बालसुरक्षाका क्षेत्रमा गर्दै आएका कार्यहरूको विस्तृत जानकारी दिनुभयो। उहाँले खुला नाका भएको कारण लागुऔषध ओसारपसारको जोखिम रहेको बताउँदै यस्ता कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो। साथै, कसैले त्यस्तो कार्य देखेमा तुरुन्त पालिकालाई जानकारी दिन आग्रह गर्नुभयो। रानाले कार्यक्रम आयोजना गर्ने कञ्चन सामुदायिक विकास केन्द्र तथा परियोजनालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो।

उपाध्यक्ष शान्ति नाथले गत वर्ष गाउँपालिकाभरका विद्यालयमा लागुपदार्थ दुरुपयोग न्यूनीकरणसम्बन्धी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा नं. ५ का अध्यक्ष इन्द्रबहादुर खड्काले बालक्लबका हकहित र संरक्षणबारे बोल्दै हरेक वडामा बालक्लब दर्ता गरी विद्यालयस्तरबाटै बालसुरक्षाको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो।

शिक्षा शाखा प्रमुखले विद्यार्थीबाट उठेका प्रश्नको जवाफ दिँदै पालिकाले शिक्षा सुधारका क्षेत्रमा गरिरहेका कामबारे प्रष्ट पार्नुभयो। सोही अवसरमा समावेशी गुणस्तरीय शिक्षा परियोजनाका अधिकृत ऋषिकेश जैरूले परियोजनाअन्तर्गत हालसम्मका गतिविधि र आगामी योजना सार्वजनिक गर्नुभयो। महिला तथा बालबालिका शाखाबाट बालअधिकार र संरक्षणसम्बन्धी जानकारी समेत दिइयो।

सिहपाल आधारभूत विद्यालयका प्रधानाध्यापक केशव साउदले सम्मेलन आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम वर्षमा कम्तीमा एकपटक नियमित सञ्चालन गर्न सुझाव दिनुभयो।

कार्यक्रमको अन्त्यमा सभापति तथा कञ्चन सामुदायिक विकास केन्द्रकी सचिव रिता शाहले सहभागी, विद्यालय परिवार र सहयोगी सबैलाई धन्यवाद दिंदै यो पहिलो प्रयास भएकाले केही त्रुटि भए क्षमायाचनासमेत गर्नुभयो। उहाँले सम्मेलनले बालबालिकामा नेतृत्व र सहभागिताको नयाँ उत्साह जगाएको उल्लेख गर्दै कार्यक्रम समापन गर्नुभयो।

बेलडाँडीमा सम्पन्न पहिलो बालक्लब सम्मेलनले विद्यालयस्तरका बालबालिकामा आत्मविश्वास, बोल्ने साहस र सामाजिक उत्तरदायित्वप्रतिको चेतना थपिदिएको सहभागीहरूको अनुभूति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित