बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. १ को प्रशासकीय भवनको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ । शिलान्यास गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता वडा नं. १ का अध्यक्ष गजबहादुर बिष्टले गर्नुभएको थियो ।
अध्यक्ष बिष्टका अनुसार भवन निर्माणका लागि चौधरी बिल्डर्स महेन्द्रनगरसँग गत कार्तिक १६ गते २०८२ मा सम्झौता गरिएको हो । जेठ मसान्त २०८३ भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जनाइएको छ । भवन निर्माणको लागत ९६ लाख ६० हजार ९ सय ४ रुपैयाँको स्टमेट गरिएकोमा, ठेक्का प्रक्रिया अनुसार चौधरी बिल्डर्सले ६४ लाख ३१ हजार ९ सय २५ रुपैयाँ (भ्याटसहित) मा ठेक्का पाएको हो । २२३७.६३ वर्गफिट क्षेत्रफलमा एकतले भवन बन्नेछ ।
वडा अध्यक्ष बिष्टले भने, “हामी करिब आठ वर्षदेखि भाडाको घरमा बसेर काम गर्दै आएका छौं । सेवाग्राहीहरूलाई पनि सेवा लिन सास्ती हुन्थ्यो । अब आफ्नै प्रशासकीय भवन बन्ने भएपछि वडावासीलाइ सहज र सुलभ रूपमा सेवा दिन सक्नेछौं ।”
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले वडाको आफ्नै भवन निर्माण हुनु गाउँपालिकाको संस्थागत बलियोपनको संकेत भएको बताउनुभयो । “वडा नं. ३ मा पनि गत बर्ष नै भवन बनाउने तयारी थियो, तर दलदले जमिनका कारण प्राविधिक समस्या आयो,” उहाँले भन्नुभयो, “हामी सबै वडामा स्थायी भवन निर्माण गरेर नागरिकलाई नजिकैबाट सेवा पु¥याउने लक्ष्यका साथ अघि बढेका छौं ।”
यससँगै बेलडाँडी गाउँपालिकाले सबै वडाहरूमा आवश्यक पूर्वाधार विस्तार गर्दै नागरिकमैत्री सेवा प्रवाहको दिशा लिएको संकेत गरेको छ ।



















Discussion about this post