बेलडाँडीमा पालिका स्तरीय बाल कचहरी, शिक्षा सुधारका मुद्दामाथि विद्यार्थीको प्रत्यक्ष आवाज

केशव थापा/कञ्चनपुर, । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ‘समावेशी तथा गुणस्तरीय शिक्षा’ कार्यक्रमअन्तर्गत सोमबार पालिका स्तरीय बाल कचहरी कार्यक्रम गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेन र एनएनएसडब्लुएको संयोजनमा आयोजित कार्यक्रममा बेलडाँडी गाउँपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको उपाध्यक्षकाे कक्षमा आयोजित कचहरीमा सहभागी विद्यार्थीहरूले विद्यालयमा देखिने विभेद, सिकाइमा देखिने कमजोरी, आवश्यक भौतिक पूर्वाधारको अभाव, सिकाइ सामग्रीको आवश्यकता तथा समावेशी शिक्षाको महत्वबारे खुला रूपमा धारणा राखे । साथै बजेट विनियोजन, निःशुल्क शिक्षा, विद्यालय दरबन्दी तथा खेलकुद सामग्री जस्ता मुद्दामा उनीहरूले कर्मचारी तथा जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए ।

कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले स्थानीय सरकार बालमैत्री संरचना निर्माणको लक्ष्यसँगै घरको आर्थिक अवस्था कमजोर भएर कोही पनि शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले छात्रवृत्ति तथा अन्य सहयोगका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । “गुणस्तरीय शिक्षा, विद्यालय दरबन्दी पूरै भर्ने कार्य, नियमित अनुगमन र नीतिगत सुधार हाम्रो प्राथमिकतामा छन्” उपाध्यक्ष नाथले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार बाल कचहरीजस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, जिज्ञासा र प्रश्न गर्न सक्ने क्षमतामा उल्लेखनीय वृद्धि भएको छ। “विद्यार्थी र जनप्रतिनिधिबीचको प्रत्यक्ष संवादले ज्ञान आदान–प्रदान मात्र होइन, नेतृत्व क्षमता र बौद्धिक विकास पनि मजबुत भएको छ,” उपाध्यक्ष नाथले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बिकले बालमैत्री कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउन प्रशासन निरन्तर प्रतिबद्ध रहने बताउनुभयो । समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना कार्यक्रमका शिक्षा अधिकृत ऋषिकेश जैरूले विद्यालयबाहिर रहेका जोखिमयुक्त बालबालिकालाई पुनः विद्यालयमा ल्याउने अभियान २०८४ सम्म निरन्तर रहने बताउनु भयो ।

“कसैले पनि पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हाम्रो कार्यक्रम निरन्तर अघि बढिरहेको छ” जैरूले बताउनुभयो । स्थानीय तहमा शिक्षा क्षेत्रका चुनौती, समाधानका उपाय तथा समावेशी शिक्षाको आवश्यकताबारे साझा समझदारी निर्माण गर्न बाल कचहरी कार्यक्रम महत्त्वपूर्ण रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले बताए। उनका अनुसार विद्यार्थी, शिक्षक, कर्मचारी र जनप्रतिनिधिबीच भएको प्रत्यक्ष संवादले शिक्षा सुधारको मार्ग थप स्पष्ट भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित