बेलडाँडी । बेलडाँडी गाउँपालिकामा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत बालिका, युवा तथा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वसहित विभिन्न पालिका-स्तरीय समिति गठन गरिएको छ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भानुभक्त जोशीको सभापतित्व र गाउँपालिका उपाध्यक्ष शान्ति नाथको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कञ्चन सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोग, युरोपियन युनियनको आर्थिक सहयोग तथा सेभ द चिल्डेन र नेपाल राष्ट्रिय समाज कल्याण संघको साझेदारी रहेको थियो।
समावेशी शिक्षा परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा वडाबाट सिफारिस भएर आएका बालिका प्रतिनिधि, युवा तथा अपांगता भएका व्यक्तिहरूको सहभागितामा युवा समूह, बालिका अग्रदूत र अपांगता अग्रदूतको गठन गरिएको कञ्चन सामुदायिक विकास केन्द्रले जनाएको छ।
९ सदस्यीय पालिका स्तरीय युवा समूह: समावेशी शिक्षासम्बन्धी नीतिगत अवस्था अध्ययन, अनुसन्धान तथा अनुगमन गर्न स्नातक उत्तीर्ण वा स्नातक अध्ययनरत युवाहरूबाट गठन।
बालिका अग्रदूत-५ जना: प्रत्येक वडाबाट एक-एक जना बालिका छनोट गरी शिक्षा, स्वास्थ्य, समस्या समाधान तथा बालिकाको हकहितमा अगुवाई गर्ने जिम्मेवारी प्रदान।
अपांगता अग्रदूत-४ जना: वडाबाट सिफारिस भएर आएका अपांगता भएका व्यक्तिहरूलाई समावेशी नीतिको कार्यान्वयनमा समुदायस्तरमा नेतृत्व गर्ने जिम्मेवारी।
कार्यक्रममा सहभागीहरूलाई काम, कर्तव्य र जिम्मेवारीसम्बन्धी विस्तृत अभिमुखिकरण गराइएको थियो। युवा समूहका पदाधिकारीहरू काठमाडौँ विश्वविद्यालयको स्नातक फेलोसिप कार्यक्रमसँग जोडिने, अग्रदूतहरूलाई विभिन्न तालिम, व्यक्तित्व विकास, र नेतृत्व क्षमतामा तालिम प्रदान गरिने जानकारी पनि दिइएको थियो ।
कार्यक्रमको सहजीकरण एनएनएसडब्लुएका शिक्षा अधिकृत ऋषिकेश जैरुले र सञ्चालन कञ्चन सामुदायिक विकास केन्द्रकी प्रवन्धक गीता राना क्षेत्रीले गरेका थिए।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, अपांगता भएका व्यक्तिहरू, बालबालिका लगायतको सहभागिता थियो।
समापन सत्रमा नवनियुक्त युवा समूहका पदाधिकारी, बालिका अग्रदूत तथा अपांगता अग्रदूतहरूलाई गाउँपालिका अध्यक्ष, नि.प्र.प्र.अ. र वडा अध्यक्षद्वारा खादा-टिका लगाई सम्मान सहित बधाई दिँदै कार्यक्रम सम्पन्न गरिएको कञ्चन सामुदायिक विकास केन्द्रले जनाएको छ।













Discussion about this post