बेलडाँडी । युरोपेली संघद्वारा वित्तपोषित NPL INTPA गुणस्तरीय शिक्षा-कसैलाई पनि पछि नछोड्ने परियोजना अन्तर्गत बेलडाँडी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएका छन्। सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) का साझेदार संस्थाको सहकार्यमा कञ्चन सामुदायिक विकास केन्द्रले परियोजनाका गतिविधिहरू निरन्तर अघि बढाइरहेको छ।
राष्ट्रिय शिक्षा नीतिको प्रभावकारी तथा समावेशी कार्यान्वयनमा नागरिक समाजको भूमिकाको सुदृढीकरण, समावेशी शिक्षामा पहुँच अभिवृद्धि र तीनवटै तहका सरकारबीच समन्वय वृद्धि परियोजनाको मूल लक्ष्य रहेको छ। जातीय विभेदमा परेका समुदाय, अपांगता भएका व्यक्ति, दलित तथा पछाडि परेका वर्गका बालबालिकालाई शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा पहुँच दिलाउँदै उनीहरूलाई सशक्त बनाउने दीर्घकालीन लक्ष्य परियोजनाले अघि सारेको छ।
परियोजनाअन्तर्गत गत जनवरीदेखि नोभेम्बरसम्म अपांगता भएका बालबालिकाका अभिभावक, दलित र विपन्न परिवारका समूहमा जनचेतना सत्र, अपांगता पहिचान तथा IEMIS रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण, विद्यालय सुधार योजना अद्यावधिक, GEDSI तालिम, हिंसारहित शिक्षण प्रवर्द्धन, नमुना विद्यालयमा स्रोत केन्द्र स्थापना, शैक्षिक सामग्री वितरण, छात्रवृत्ति कोष सहयोग, घरमै विद्यालय कार्यक्रम, बाल कचहरी, बालिका च्याम्पियन छनोट लगायतका विविध गतिविधि सम्पन्न भएका छन्।
कञ्चन सामुदायिक विकास केन्द्रले ‘लागूपदार्थ दुव्र्यसन न्यूनीकरण’ विषयमा सडक नाटक, अपांगता भएका विद्यार्थीहरूको चित्रकला प्रदर्शनी, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, वडास्तरीय अभिभावक दौतरी छलफल, समुदाय-आधारित सचेतना गतिविधि तथा CSO समन्वय बैठकजस्ता कार्यक्रम सञ्चालन गरी समुदायमा सकारात्मक प्रभाव पारेको जनाएको छ।
परियोजना अन्तर्गत संचालित कार्यक्रमको प्रभावकारिता तथा अवस्थाको मूल्यांकन गर्न पालिका स्तरीय संयुक्त अनुगमन टोलीले आज सरस्वती माध्यमिक विद्यालय झर्नासागर, वडा नं. ३ मा रहेका अभिभावक दौतरी समूह र घरमै विद्यालय कार्यक्रम स्थलको अनुगमन गरेको छ।
अनुगमन कार्यक्रम बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष शान्ति नाथ, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विक, शिक्षा शाखा प्रमुख भानुभक्त जोशी, परियोजना प्रवन्धक विशन देव जोशी सहित अन्य प्रतिनिधि, विद्यालय प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति थियो।
अनुगमन टोलीले परियोजनाका गतिविधिहरू प्रभावकारी र परिणाममूलक रहेको मूल्यांकन गर्दै आगामी दिनमा समन्वय तथा सहभागितामार्फत समावेशी शिक्षालाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।




















Discussion about this post