बेलौरी मेयर कपमा खेलाडीमाथि साङ्घातिक आक्रमण : जेन-जी बेलौरी र वडा नं.१० को संयुक्त रूपमा दोषीमाथि कारबाहीको माग

बेलौरी । बेलौरी नगर खेलकुद समितिद्वारा आयोजित वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिताको खेलमैदानमा खेलाडी करन पालमाथि भएको साङ्घातिक आक्रमणबारे जेनजी बेलौरी तथा समर्थक समूह र बेलौरी नगरपालिका-१० का युवाहरूले अलग-अलग रुपमा बुझाएका ज्ञापनपत्रमार्फत एकै स्वरमा दोषीमाथि कडा कारबाही तथा सुरक्षा व्यवस्थाको सुधारको माग गरेका छन्।

जेनजी बेलौरी तथा समर्थक समूहले आक्रमणप्रति गम्भीर चिन्ता र कडा आपत्ति जनाउँदै खेल मैदानमै खेलाडीको ज्यान जोखिममा पर्नेगरी भएको हिंसात्मक व्यवहारलाई “अत्यन्त निन्दनीय र अमानवीय” भनेका छन्। उनीहरूले खेलकुदमा विवाद सामान्य भए पनि खेलाडीको ज्यानमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख गर्दै घाइते करन पालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै, बेलौरी-१० का युवाहरूले नगरपालिकामा बुझाएको निवेदनमा आक्रमणमा संलग्न व्यक्तिहरू-महेंद्र शाही, भुपेन्द्र शाही, सन्तोष शाही, गणेश मगर लगायत माथि कानूनी कारबाही गर्न जोड दिएका छन्। उनीहरूले खेलकुद समितिकै कमजोर व्यवहार, व्यवस्थापन र उदासिनताले यस्तो घटना दोहोरिन सक्ने भन्दै समितिलाई समेत खारेज गर्नुपर्ने माग प्रस्तुत गरेका छन्।

निवेदनमा, खेलमैदानमै खेल्दै गर्दा खेलाडीलाई मरणासन्न हुनेगरी कुटपिट गर्नु “अमानवीय, गैरखेलकुदीय र आपराधिक” भएको उल्लेख छ। पीडित खेलाडी पालको उपचार तथा स्वास्थ्य अवस्थाप्रति नगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने दवाब पनि युवाहरूले दिएका छन्।

दुवै पक्षका ज्ञापनपत्रहरूले एकै स्वरमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान, कानुन अनुसार कडा कारबाही, र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन खेलमैदानमा प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

जेनजी बेलौरी तथा समर्थक समूहका संयोजक केशब कुमार बोहराले खेलकुदमै शान्ति, अनुशासन र आपसी सम्मान पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै घटनाले युवाको मनोबल र खेल क्षेत्रको विश्वसनीयता नै गम्भीर रूपमा प्रभावित भएको टिप्पणी गरेका छन्।

यता वडा नं.१० का युवाहरूले पनि पीडित खेलाडी र समग्र खेलाडी सुरक्षाका लागि नगरपालिकाले तत्काल पहल गर्नुपर्ने जनाएका छन्। बेलौरीमा भएको उक्त घटनापछि दोषीमाथि छानबिन र कडा कारबाहीको माग चौतर्फी रूपमा बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित