घाइते खेलाडी पालको अस्पतालमै पुगेर कञ्चनपुर खेलकुद समितिको छानबिन र कडा कारबाहीको माग

विकास सिंह महता/कञ्चनपुर । बेलौरीमा जारी मेयर कप फुटबल प्रतियोगिताका क्रममा खेलाडी करन पालमाथि भएको कुटपिट घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग विभिन्न खेलसम्बद्ध संघ–संस्थाले चौतर्फी रूपमा अघि सारेका छन्।

आइतबार मायामेट्रो अस्पतालमा उपचाररत पाललाई भेट्दै कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दोषिलाई उन्मुक्ति नदिनुपर्ने बताएका छन्। उनले खेल मैदानमै खेलाडीमाथि भएको आक्रमण केवल एक जनामाथिको चोट नभई सम्पूर्ण खेल क्षेत्रमाथिको प्रहार भएको बताउँदै तत्काल छानबिन र कानुनी कारबाही प्रक्रियामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

घटनापछि प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव, कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समिति, जिल्ला रेफ्री संघ, तथा स्थानीय खेलकुद समुदायले पनि एकै स्वरमा दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

अध्यक्ष खड्काले घाइते खेलाडीको उपचार व्यवस्थामा सहयोग सुनिश्चित गर्नुपर्ने र भविष्यमा यस्ता अमानवीय घटना दोहोरिन नदिन खेल मैदानको सुरक्षा व्यवस्था मजबुत बनाउन सम्बन्धित निकायलाई आग्रह गरे। यसैबीच, पालका परिवार, स्थानीय खेलाडी तथा खेलकुद क्षेत्रका अगुवाहरूले पनि यदि कानुनी प्रक्रियामा ढिलाइ वा सम्झौता गर्न खोजियो भने आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बि-डिभिजन लिगसमेत खेलिसकेका प्रतिभावान खेलाडी करन पालमाथि खेलमैदानमै भएको कुटपिटप्रति प्रदेशभर तिव्र प्रतिक्रिया आएको छ। पालको क्षमताबारे बेवास्ता गरिरहेको बेला बेलडाँडीको झिलमिला युवा समाजले उनलाई आफ्नो पालिकामा विशेष सम्मानसमेत प्रदान गरेको थियो।

सुदूरपश्चिममै चर्चित खेलाडी यति गम्भीर रूपमा घाइते हुनु खेदजनक भएको भन्दै आयोजक समितिमाथि चौतर्फी आलोचना बढिरहेको छ। खेल मैदानमा सुरक्षा नहेर्ने र विवाद व्यवस्थापनमा कमजोरी देखिएको भन्दै यसको पूर्ण जिम्मेवारी आयोजक समितिले लिनुपर्ने आवाज उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित