बेलडाँडी महिला साना किसान सहकारीको ९ औँ वार्षिक साधारण सभा सम्पन्न, लगानी र आम्दानीमा उल्लेखनीय प्रगति

बेलडाँडी । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो ९ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। सभाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा सञ्चालन गरिएका कार्यक्रम, आर्थिक प्रगति तथा भावी योजनाहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सभामा प्रस्तुत विवरण अनुसार सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ३६ लाख ७२ हजार रुपैयाँ ऋण लगानी गरेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ८ लाख ७४ हजार रुपैयाँ पुर्‍याएको छ।
त्यसैगरी आम्दानीतर्फ आ.व. २०८०/०८१ मा १ करोड १७ लाख ७६ हजार ५ सय २६ रुपैयाँ आम्दानी गरेको सहकारीले आ.व. २०८१/०८२ मा १ करोड २१ लाख ९४ हजार ७ सय १७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ। आगामी आ.व. २०८२/०८३ का लागि १० करोड ४१ लाख ५१ हजार रुपैयाँ आम्दानी गर्ने महत्वाकांक्षी लक्ष्य पनि सभामा प्रस्ताव गरिएको छ।

सभाले युवालाई समूहमा आबद्ध गराई स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने, वित्तीय साक्षरता अभिवृद्धि, पशुधन संरक्षण (गाई, भैँसी, भेडा, बाख्रा) सम्बन्धी तालिम, कृषि तथा तरकारी खेतीसम्बन्धी तालिम, नियमित समूह अनुगमन, ऋण असुली समितिको गठन तथा अटेरी गर्ने सदस्यविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने लगायतका कार्यक्रम अनुमोदन गरेको छ।

पशुपालन, कृषि उत्पादन व्यवसाय, केरा, तरकारी, दुध, दाल, तेल, बेसार, दैनिक उपभोग्य पसल जस्ता सामूहिक तथा व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ। साथै दलित, आदिवासी जनजाति, मुक्तकमैया तथा समान्तकृत समुदायलाई सहकारीमा समेट्दै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ।

सहकारीले शेयर सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँसम्म राहत, आपतकालीन अवस्थामा ३० हजार रुपैयाँसम्म एम्बुलेन्स सेवा ऋण, सदस्यहरूको लागि म्यादी बिमा कार्यक्रम (८,५०० रुपैयाँमा ३ लाख रुपैयाँसम्म बिमा) सञ्चालन गर्ने निर्णय गरेको छ।
साथै पारदर्शिता अभिवृद्धिका लागि कम्प्युटर तथा ट्याब्लेट प्रयोग गरी फिल्ड असुली प्रणाली लागू गरिने जनाइएको छ।

संस्थाकी अध्यक्ष कमला रेग्मी जोशीले सहकारीको मूल परिकल्पना ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न, साना किसान, पशुपालक तथा साना व्यवसायीलाई संगठित गरी आर्थिक, सामाजिक र सामुदायिक उन्नति हासिल गर्नु रहेको बताउनुभयो।
उहाँले सहुलियत ब्याजदरमा कृषि तथा गैरकृषि कर्जा उपलब्ध गराउँदै आयआर्जन र रोजगारीका अवसर सिर्जना गरिरहेको उल्लेख गुर्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालयले बेलडाँडी महिला साना किसान सहकारीले अन्य सहकारीभन्दा उदाहरणीय र प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रगतिशील बन्न शुभकामना व्यक्त गर्नुभयो।

१३ सय ८१ शेयर सदस्य रहेको यस सहकारीमा २३२ समूह, ५५० ऋणी, ११ अन्तर समूह, ११ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा समिति, २ सल्लाहकार र ३ कर्मचारी कार्यरत छन्।
९ औँ वार्षिक साधारण सभाको अवसरमा २५ जना जेष्ठ नागरिक, २ जना एसईई उत्कृष्ट विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ५ जना अपाङ्गता भएका व्यक्ति, एकल महिला उद्योगी तथा पत्रकारलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन तथा आर्थिक प्रतिवेदन प्रवन्धक विमला कुमारी बडवालले प्रस्तुत गर्नुभएको थियो।

ग्रामीण महिला सशक्तिकरण, कृषि विकास र आर्थिक आत्मनिर्भरताको उदाहरण बनेको बेलडाँडी महिला साना किसान सहकारीले आगामी दिनमा पनि विश्वास, पारदर्शिता र सहकार्यको बलमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित